एक हजार ५ सय ४८ सवारी साधनलाई ‘ह्वील लक’

काठमाण्डाै, २८ फागुन । ट्राफिक प्रहरीले उपत्यकामा जथाभावी पार्किङ गर्ने एक हजार ५  सय ४८ सवारी साधनलाई कारबाही स्वरुप ‘ह्वील लक’ (सवारी साधनको पाङ्ग्रामा साँचो) लगाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मङ्सिर ८ गतेदेखि सुरु गरिएको उक्त अभियानमा दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधनलाई ‘ह्वील लक’ लगाएर कारवाही गरिँदै आएको बताएका छन ।

महाशाखाले सडकलाई अवरोध पुर्याउने गरेर जथाभावी रुपमा पार्किङ गर्ने सवारी साधनलाई ह्वील लकसँगै रु ५०० देखि एक हजारसम्म जरिवना गर्दै आएको छ ।

ट्राफिक प्रहरीले ‘ह्वील लक’ लगाउँदा सम्बन्धित सवारी चालकलाई उक्त कारवाहीअन्तर्गत कहाँ र कसलाई सम्पर्क गर्ने भन्ने कुरा भने विस्तृत विवरणसहित तयार पारेको ‘स्टीकर’ चालकतर्फको झ्यालमा टाँस्ने गरेको छ । महाशाखाका अनुसार ‘ह्वील लक’ खुलाउन ‘स्टीकर’मा लेखिएको ट्राफिक प्रहरीको मोबाइल वा ट्राफिक प्रहरीको हटलाइन १०३ मा सम्पर्क गर्नुपर्ने व्यवस्थासमेत गरेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com