महिलाको सम्मान र सशक्तीकरणका लागि काम गर्न कहिल्यै थकाइ लाग्दैन : राष्ट्रपति

काठमाडौँ, २९ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले जनता, आममानिस र महिलाको सम्मान, प्रतिष्ठा र सशक्तीकरणका लागि काम गर्न कहिल्यै थकाइ नलाग्ने बताएकी छन ।

संयुक्त राष्ट्रसङ्घीय आयोगको ६३ औँ अधिवेशनका अवसरमा राष्ट्र सङ्घका महासभाका अध्यक्ष मारिया फर्नान्डा एस्पिनोसा गार्सेसले न्यूयोर्कस्थित महासभा कक्षमा आयोजना गरेको ‘शक्तिमा महिला’ मूल विषयअन्तर्गत उच्चस्तरीय एक सत्रमा बोल्दै राष्ट्रपति भण्डारीले महिलासम्बन्धी कानूनी र संवैधानिक परिवर्तन गर्दा तथा महिलाको अस्तित्वलाई स्वीकार गर्दा मुलुकमा निकै ठूलो परिवर्तन गर्न सकिने बताएकी छन् ।

उनले भनिन्, ‘संवैधानिक र कानुनी प्रावधान स्पष्ट रुपमा परिवर्तन नगर्दा महिला पछि पर्छन्, नेपालमा कानूनमा सामान्य परिवर्तन गर्दा छोटो समयमा ठूलो परिवर्तन भएको छ ।’

नेपालमा एक लाख पदमा भएको निर्वाचनमा १३६ जना महिला प्रतिनिधि मात्र निर्वाचित भएकामा हालैका वर्षमा केही कानूनी प्रावधानलाई सच्याउँदा एकै पटक करीब ४० हजार महिला निर्वाचित भएको भन्दै उनले नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको र केन्द्र, प्रदेश र स्थानीय तहमा ३५ देखि ४१ प्रतिशत महिला निर्वाचित भएर आएको बताइन ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com