चिया उत्पादन र अनुसन्धानमा नेपाल–चीन सहकार्य : मन्त्री खनाल

काठमाडौँ, ५ चैत । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले नेपालमा चिया उत्पादन, अनुसन्धान, प्रविधि र चियाको आर्थिक सामाजिक अन्तरसम्बन्धमा चीन सरकारसँग सहयोग र सहकार्यका आधारमा साथ अघि बढ्न चाहेको बताउनुभएको छ ।

चीनको सिचुवान प्रान्तको इविन शहरमा सोमबार आयोजित तेस्रो अन्तर्राष्ट्रिय चिया सम्मेलनमा बोल्दै मन्त्री खनालले नेपाल चियामा आत्मनिर्भरताको अवस्थामा पुगे पनि चियालाई संस्कृति र कलाको रूपमा विकास गर्न अझै धेरै काम गर्न बाँकी छ भन्दै चीन सरकारसँग सहकार्यको प्रस्ताव राख्नुभएको हो ।

चिनियाँ उपकरण तथा मेसिनको प्रयोग गरी नेपालमा हाल चिया उत्पादन गर्ने एक सय बढी साना कारखाना सञ्चालनमा छन् । नेपालमा ठूलो मात्रामा चिया उत्पादन भए पनि न्यून परिमाणमा मात्र चिया चीनतर्फ निर्यात भएको छ । “यो परिमाणलाई बढाउँदै लाने हाम्रो प्रयास जारी छ । किनकि हामीलाई थाहा छ, चियालाई पेयपदार्थको रूपमा मात्र होइन, संस्कृति, माया एवं सम्मान गर्ने मुलुकका रूपमा पनि चीनलाई लिइने गरिन्छ”, मन्त्री खनालले भन्नुभयो ।

मन्त्री खनालले नेपालले विकास र समृद्धिका दृष्टिले छिमेकी राष्ट्रहरु चीन र भारतको सद्भाव र त्रिदेशीय सहकार्यको अधिकतम सदुपयोग गर्न चाहेको छ भन्नुभयो । खनालले चीनले अगाडि सारेको बेल्ट एण्ड रोड अवधारणा (बिआरआई) ऐतिहासिक रहेको भन्दै यसले व्यावसायिक र सांस्कृतिक हिसाबले विश्वलाई जोड्न सफल हुनेमा नेपाल विश्वस्त रहेको बताउनुभयो ।

सम्मेलनमा नेपाली किसान तथा सम्बन्धित क्षेत्रका प्रतिनिधिसहित ४० देशका झण्डै एक हजार प्रतिनिधिको सहभागिता रहेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com