जनताको जलविद्युतको सेयर आजदेखि : प्रधानमन्त्री ओलीले पहिलो सेयर किन्ने

काठमाडौँ, ७ चैत । जलविद्युत् आयोजनाहरूमा सर्वसाधारणको स्वामित्व स्थापित गर्ने लक्ष्यसहित सरकारले घोषणा गरेको जनताको जलविद्युत् आयोजना कार्यक्रम आजदेखी शुरु हुने भएको छ ।

फागुन २ गते घोषणा गरिएको उक्त कार्यक्रम घोषणाका क्रममा गरेको बाचाअनुरुप प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट सेयरका लागि पहिलो आवेदन भर्दैछन् ।

प्रधानमन्त्री ओलीले कार्यक्रम अन्तर्गत माथिल्लो त्रिशूली थ्रि बी आयोजनाका लागि ग्लोबल आईएमई क्यापिटलमार्फत अनलाइन आवेदन भर्ने कार्यक्रम तय भएको छ । कार्यक्रम घोषणा गर्ने क्रममा उहाँले ३५ दिनभित्र आफैले आवेदन भर्ने घोषणा गरे । ‘नेपालको पानी जनताको लगानी, सबै नेपाली विद्युत्को सेयरधनी’ भन्ने मूलनाराका साथ घोषणाा गरिएको कार्यक्रमबाट जलविद्युत्मा करिब सात खर्ब रुपियाँ लगानी जुटाउने सरकारको लक्ष्य छ ।

त्यसका लागि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले हाललाई तीन हजार ४७९ मेगावाट क्षमताका १९ वटा जलविद्युत् आयोजना निश्चित गरिसकेको छ ।

मन्त्रालयले कार्यक्रमका लागि छनोट गरी आवश्यक अध्ययन सबै पूरा गरेका, वित्तीय व्यवस्थापन र विद्युत् खरिद सम्झौता भइसकेका आयोजनाहरुले मात्र सेयर आह्वान गर्न पाउने व्यवस्था छ । कार्यविधि अनुसार कार्यक्रम अन्तर्गतका आयोजनाको सेयर स्वामित्वमा ५१ प्रतिशत सरकारी स्वामित्वका कम्पनी र ४९ प्रतिशत सर्वसाधारणको सेयर रहने व्यवस्था गरिएको छ। त्यसमध्ये १० प्रतिशत आयोजना प्रभावित क्षेत्रका सर्वसाधारणका लागि छुट्याइएको छ भने बाँकी ३९ प्रतिशत आमसर्वसाधारणका लागि छुट्याउने व्यवस्था गरिएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com