सरकारले चौतर्फी विकासको लहर, केहीलाई आफ्नो दोकान बन्द होलान् भन्ने पीर : प्रम ओली

बुटवल, ८ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चौतर्फी विकासको लहर ल्याउन थालेपछि केहीलाई आफ्नो दोकान बन्द होलान् भन्ने पीर परेकाले प्रतिकृयावादी तत्वहरुले सरकारको विरोध गर्दैमा आफ्नो समय वर्वाद गर्ने गरेको बताउनुभयो ।

तिलोत्तमामा बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाल मगन्ते देश नभएको बताउनुभयो । नेपालमा खनिज, पेट्रोल, फलाम, सुन जस्ता खानी रहेकाले नेपाल आफैंमा सम्पन्न राष्ट्र भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले कतिपयले विदेशी सहयोग आउँदैन भनेर हल्ला चलाउन थालेको भन्दै उहाँले नेपाल मगन्तेहरुको देश नभएकाले आफ्नै देशका प्राकृतिक स्रोत सदुपयोग गरेर समृद्ध मुलुक बनाइने बताउनुभयो ।

‘सडक चौडा बनाउँदा पनि बर्बाद भो भनेका छन्, एअरपोर्ट बनाउन थालेपनि बर्बाद भो भनेका छन्, झन् विप्लव समूहका हिंसात्मक गतिविधि नियन्त्रण खोज्दा त झनै बर्बाद भो भनेर कराउन थालेका छन् । तर, सरकार समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियानमा दृढ भएर अघि बढेको छ ।’ उहाँले भन्नुभयो, ‘विज्ञानकै कारण अरुको मिर्गौला लिएर चलेको मान्छे मै हुँ । चलेको मात्र हैन, प्रधानमन्त्री नै बनेको छु’ उनले भने ।

सरकारी मेडिकल कलेज ठूलो आयोजना भएको भन्दै उहाँले यसलाई सफल बनाउन सबैको सहयोग हुनुपर्नेमा जोड दिनुभयो । दुषित पानी, पोषणयुक्त खानाको अभावमा, गर्भावस्थादेखि नै कुपोषणको शिकार, असन्तुलित, अस्वस्थ खानाले रोगहरु बढेका भन्दै प्रधानमन्त्रीले स्वस्थ आहार विहारमा रहन आग्रह गर्नुभयो ।

नेकपा महासचिव विष्णु पौडेलले केपी ओली प्रधानमन्त्री र आफू अर्थमन्त्री रहेका बेला सातवटै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेकोमा बल्ल काम अघि बढेको बताउनुभयो ।

तिलोत्तमा नगरपालिका– १ र ८ मा पर्ने शंकरनगर र करिहया सामुदायिक वनको २ सय बिघा जग्गामा मेडिकल कलेज बन्ने छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com