कालो सूचीको कम्पनीलाई प्राइम बैंकद्वारा करोडौं ऋण प्रवाह

प्राइम कमर्सियल बैंकले नेपाली सेनामा कालो सूचीमा परेको एक कम्पनीलाई नियम विपरित ५ करोड ऋण प्रवाह गरेको तथ्य खुलेको छ ।

केही वर्ष अघि नेपाली सेनामा चुस्ताको काम गर्दा नक्कली सामान हालेको भन्दै सेनाले घिसिङ एण्ड डेभलपर्स कम्पनी प्रालिलाई कालो सूचीमा राखेको थियो ।

जुन कुराको जानकारी हुँदा हुँदै बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) नारायणदास मानन्धरको मिलेमतोमा घिसिङ एण्ड डेभलपर्स कम्पनी प्रालिकी सञ्चालक विना तामाङको श्रेस्ता दर्ता कामय रहेको टेकुस्थित ०–१३–०–० क्षेत्रफलमा रहेको घर जग्गाको मूल्यांकन गरी ५ करोड ऋण प्रवाह गरिएको छ ।

शुरुमा कर्जा तरलता अभावका कारण देखाउँदै बैकले ऋण दिन नसकेको जानकारी गराए पनि अन्ततः कमिसनमा कुरा मिलेपछि मानन्धारले एकाएक दुई दिन लगाएर बैंकको तरलता न्यून हुँदै गएको उल्लेख गरी ५ करोड उपलब्ध गराएको पत्र मार्फत जानकारी गराएका हुन् । घिसिङ एण्ड डेभलपर्स कम्पनीी सञ्चालिका तामाङ विवादास्पद ठेकेदार चन्द्र घिसिङकी श्रीमती हुन् । बैंकले धितो सुरक्षणको लागि उक्त जग्गा रोक्का गराएपनि घिसिङले बैंकमा पेश गरेका अन्य डकुमेन्टहरु भने नक्कली रहेको खुलेको छ ।

सेनामा काम समेत बन्द भइसकेको र कुनै पनि सुरक्षा निकाय तथा अन्य कार्यालयमा ठेक्कालगायतका काम बन्द भइसकेको घिसिङ एण्ड डेभलपर्स कम्पनीका डकुमेन्टलाई रुजु नगरी ऋण प्रवाह गर्ने मानन्धरको नियत नै खराब देखिएको बैंक स्रोत बताउँछ । बैंक स्रोतका अनुसार घिसिङले मानन्धरलाई पनि नक्कली डकुमेन्टलाई सक्कली बनाइदिएवापत कमिसन बुझाएका छन् ।

पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीको पालामा नक्कली चुस्ता हालेर उनी सेनामा ब्ल्याक लिष्टमा परेका थिए । त्यसपछि घिसिङले कुनै पनि काम गर्न पाएका छैनन् । यति हुँदाहुँदा पनि प्राइम बैंकले घिसिङ जस्ता कालो सूचीमा परेका व्यापारीलाई ऋण प्रवाह गर्नुलाई बैंककै मिलेमतोका रुपमा लिइएको छ । सर्वसाधरणको पैसाबाट चलेको वित्तिय संस्थाले यसरी कालो सूचीमा परेको कम्पनीलाई ऋण प्रवाह गर्दा एक पटक पनि बैंकले घिसिङ एण्ड डेभलपर्स कम्पनीको बारेमा बुझ्ने प्रयास गरेन । जसबाट नक्कली डकुमेन्ट पेश गरिएको प्रष्ट देखिन्छ ।

सबैभन्दा अचम्मको कुरा त के छ भने जुन घर र जग्गालाई बैंकले सुरक्षण मानेर धितो प्रवाह गरेको छ उक्त घर र जग्गा नै मुद्दामा परेको छ । गिता डंगोलको नाममा रहेको काठमाडौं महानगरपालिका, टेकुस्थित १३ आना जग्गामा बनेको उक्त घर घिसिङले चलाखीपूर्ण तरिकाले आफ्नी श्रीमतीको नाममा नामसारी गरी ऋण लिएका हुन् । सेना र प्रहरीमा चुस्ताका सामान सप्लाई गर्न लागेको र त्यसमा गिताकी श्रीमान राजु डंगोललाई पनि साझेदार बनाएको नक्कली डकुमेन्ट बनाई घिसिङले घर श्रीमतीको नाममा नामसारी गर्न सफल भएका हुन् ।

अहिले घिसिङकै किर्ते र नक्कली डकुमेन्टकै कारण एकातिर बैंक समस्यामा परेको छ भने अर्कोतिर डंगोल दम्पत्ति घर न घाटको भएका छन् । बैंकले कुन ठाउँबाट कसरी चुस्ताका सामान खरिद गर्न लागिएको हो भन्ने बारेमा जानकारी लिएर मात्रै ऋण प्रवाह गर्नु पर्नेमा मुद्दामा परेको घर जग्गालाई सुरक्षणमा राखेर ऋण प्रवाह गरेपछि करोडौं रकम जोखिममा परेको छ । उक्त घरको विषयमा घिसिङबाट पीडित चार जना व्यक्तिले अदालतमा मुद्दा हालिसकेका छन् ।

यस अघि ट्रमा सेन्टरसँगै बनेको नेपाली सेनाको भवन लिजमा लिन लागेको भन्दै साझेदार बनाउने नाममा घिसिङले अनुप अग्रवाल र राजाराम बानियाँ नामका व्यापारीबाट पनि झण्डै १ करोड रकम असुलेका थिए ।

त्यस्तै घिसिङले सानु ढकाल केसीको नाममा रहेको बौद्धको ३६ आना जग्गा आफ्नो भन्दै बौद्धकै दोर्जे लामा नामका व्यक्तिबाट बैना स्वरुप १ करोड ५० लाख रकम लिन सफल भएका थिए । होटल सोल्टीको पाछाडी रहेको रेडक्रसको नाममा रहेको जग्गा देखाएर पनि घिसिङले एक मेनपावर व्यवसायीसँग २ करोड असुलेका छन् । केही व्यापारीले घिसिङले ठगी गरेको भन्दै प्रहरीमा उजुरी हाल्न खोज्दा उनले उपराष्ट्रपति पुत्र दिपेश पुनमार्फत सेटिङ गरी प्रहरीलाई मिलाउँदै आएको पीडित व्यापारीहरुको भनाई छ ।

घिसिङले काठमाडौंका प्रहरी प्रमुख एसएसपी बसन्त लामालाई आफूले ल्याएको भन्दै पैसा फिर्ता गर्नु पर्ने व्यापारीहरुलाई धम्क्याउने गरेको पनि खुलेको छ । परिसरमा उजुरी हाल्न जाने व्यापारीहरुलाई अदालतको आदेश भन्दै प्रहरीले उजुरी नै नलिएको ति व्यापारी बताउँछन् । त्यसैगरी घिसिङले हरिसिद्धि इटा टायल कारखानामा काम गर्ने योल हाउजिङ प्रालिलाई रकम नभएको ६ करोडको चेक दिएका छन् ।

उक्त कम्पनी नै खरिद गर्ने नाममा ६ करोडको चेक दिएका हुन् । तर, यसको भित्री रहस्य भने अर्कै रहेको छ । उक्त कम्पनी खरिद गरी आफू ठूलो कम्पनीको मालिक बन्न लागेको भन्दै सोही चेक देखाएर ठगी गर्दै आएका छन् । अदालतबाट स्टे अर्डर लिएर ठगी धन्दा गर्दै आएका घिसिङले सेना र प्रहरीको नाममा कति व्यपारीलाई अझै ठगी गर्ने हुन् ? समयले नै देखाउला । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com