नेपाल दक्षिण एसियाकै उर्जा क्षेत्रको हब : अध्यक्ष डोंगसोङ

काठमाडौँ, १७ चैत । पावर चाइनाका अध्यक्ष सोङ डोंगसोङले पछिल्लो एक वर्ष नेपालमा उर्जा क्षेत्रमा भएको नीतिगत सुधारका कारण दक्षिण एसियाकै उर्जा हबको रुपमा विकास हुने बताउनुभएको छ ।

सिंहदरवारस्थित उर्जा मन्त्रालयमा शनिबार नेपालको जलविद्युत क्षेत्रमा लगानीको सम्भावना र अवसरको वारेमा छलफलका क्रममा अध्यक्ष डोंगसोङले पावर चाइनाले नेपालका २५ वटा परियोजना बनाउने तयारी गरिरहेको जानकारी गराउनुभयो , उहाँले भन्नुभयो, ‘तल्लो अरुण, किमाथांका र आधिंखोलाजस्ता परियोजनामा हामी लगानी गर्न चाहन्छौ, त्यतिमात्र होईन हामी अफ ग्रिड पावरको क्षेत्रमा पनि काम गर्न ईच्छुक छौं ।’

उहाँले सरकार, सरकारी कम्पनी र नीजि क्षेत्रसँग मिलेर परियोजना निर्माण गर्ने भन्दै त्यसका लागी आफूलाई सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालमा सहुलियतपूर्ण ऋण, बुट र पीपीपी मोडेलमा नेपालमा लगानी गर्न पावर चाइना ईच्छुक रहेको बताउनुभयो ।

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षामान पुनले पावर चाइनाका अध्यक्ष सोङ डोंगसोङसँगको भेटमा जलविद्युत क्षेत्रको लागीे आफूले आन्तरिक र बाह्य बजार बनाउने भन्दै नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो । उहाँले पावर चाइनाले लगानी गर्न चाहे सरकार सहजीकरण गर्न तयार रहेको बताउनुभयो ।

चाइना नेशनल हेवी मेसिनरी कर्पोरेशनका उपाध्यक्ष वाङ वेईगाओले पनि मन्त्री पुनसँग भेट गर्नुभयो । भेटमा उपाध्यक्ष वेईगाओले नेपालको प्रशारण लाईनमा लगानी गर्न आफ्नो कम्पनी ईच्छुक रहेको बताउनुभयो । उहाँले सरकारको प्राथमिकता रहेको आयोजनाबारे पनि चासो व्यक्त गर्नुभयो ।

जवाफमा मन्त्री पुनले उर्जा मन्त्रालयले प्रशारण लाईनको गुरुयोजना सार्वजनिक गरेको भन्दै त्यसैअनुसार काम गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले केही समयअघि मात्र प्रशारण लाईनको ४० वर्षे गुरुयोजना सार्वजनिक गरेका छौ, न्यू बुटवल–कैलाली, मैनतारा–त्रिवेणीजस्ता परियोजना पनि हामीसँग छन्, तपाईंहरुको विज्ञता र लगानी यसमा लगाउनुहोस्, हामी सहयोग गर्न तयार छौ ।’

माथिल्लो त्रिशुली १ मा लगानी गरिरहेको कोरियन कम्पनी कोरिया साउथ–ईष्ट पावरका प्रतिनिधी र उर्जामन्त्री पुनबीच समेत भेटवार्ता भएको छ । आगामी अक्टोवरमा कम्पनीले निर्माण कार्य सुरु गर्ने जानकारी समेत प्रतिवद्धता व्यक्त गरेका छन् ।

एडिवबीका उपाध्यक्ष चेनले नेपालको उर्जा क्षेत्रमा एडिबीले लगानी गरिरहेको भन्दै आगामी दिनमा लगानी विस्तार गर्न खोजेको जानकारी दिनुभयो । उहाँले ६०० मेगावाट क्षमता भएको दुधकोशी जलाशययुक्त आयोजनामा ७० अर्ब लगानी गर्न तयार रहेको बताउनुभयो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com