सम्मान गर्न नसक्नेले अपमान गर्ने अधिकार कसैलाई छैन : सांसद बस्नेत

भक्तपुर, २० चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले राम्रो काम गर्ने जो कोहीलाई पनि सम्मान गर्नुपर्ने भन्दै सम्मान गर्न नसक्नेले अपमान गर्ने अधिकार कसैलाई नभएको बताउनुभएको छ ।

गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा भक्तपुरको १६ औं वार्षिक साधारणसभा तथा नागरिक सम्मेलनलाई विशेष सम्बोधन गर्दै सांसद बस्नेतले देशकै गैर सरकारी संस्थाहरु मध्येमा भक्तपुर अग्र स्थानमा रहेको बताउँदै गैससले आगामी दिनमा नयाँ सिर्जनशिलतालाई विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले लोककल्याकारी राज्यमा लोककल्याणकारी काम गर्ने संस्थालाई विशेष सम्मान तथा काम गर्ने अधिकार दिनुपर्ने बताउँदै ऐन, कानुन निर्माण तथा संशोधनको लागि संसदमा खेल्नुपर्ने भूमिकामा आफ्नो तर्फबाट कुनै कमि नहुने प्रतिवद्धता जनाउनुभयो । उहाँले राम्रो काम गर्ने व्यक्ति वा संस्थाको लागि आफु सडकदेखि सदनसम्म बहस र छलफल गर्न सदैव तयार रहेको समेत उद्घोष गर्नुभयो ।

पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले कतिपय सवालमा जिल्ला प्रशासन, जिल्ला समन्वय समितिको भूमिकालाई स्थानीय तहले नमान्ने गरेको पाइएको भन्दै एउटा औलाले अरुलाई देखाई रहँदा चार वटा औंलाले आफैलाई देखाउने भएकाले सम्बन्धीत निकायले समयमा नै सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले लोककल्याकारी राज्यमा नागरिकको हक तथा अधिकार संस्थागत हुनु नै लोकतन्त्रमा समृद्ध नेपाल सुखी नेपालीको अभियान सफल हुने बताउँदै लोकतन्त्रमा नागरिकको क्षमता, दक्षता तथा योग्यतालाई फराकिलो तवरले बुझ्नुपर्नेमा जोड दिनुभयो ।

सांसद बस्नेतले राजनीतिक दलको साथमा गैरसरकारी संस्था तथा नागरिक समाजका समान क्रियाशिल, सक्रिय हुनुपर्ने बताउँदै समाजमा रहेका विकृती र विसंगतिलाई अन्त्य गर्न जनप्रतिनिधि, प्रहरी प्रशासन तथा गैर सरकारी संस्थाहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

लागनी सम्मेलनमा ७२ वटा विशेष योजनाहरु सरकारले प्रस्तुत गरेकोमा भक्तपुरमा बाहिरी चक्रपथ, अन्तर्राष्ट्रिय स्तरको सभागृह, प्राणी उद्यान, सुविधा सम्पन्न वीर अस्पताल लगायतका विकासमा सम्मेलनमा सहभागिले विशेष चासो दिएको जानकारी गराउँदै सांसद बस्नेतले लगानीकर्ताको तथा गैरसरकारी संस्थाहरुको भावना अनुसार संविधान संशोधनको प्रकृयामा रहेको समेत जानकारी गराउनुभयो ।

राजमार्गमा सिसिक्यामरा तथा लाईटको व्यवस्थापनका कार्य शुरु भएको र आगामी दिनमा फोहोर फाल्नेलाई पहिचान गरी कारवाहीको दायरामा ल्याईने चेतावनी दिँदै सांसद बस्नेतले भक्तपुरमा गाउँ गाउँमा सिंहदरवार पुर्याउने कार्य शुरु भएको र आधारभूत तहका मानिसहरुलाई मध्यनजर गर्दै भोली चाँगुनारायण नगरपालिकामा विशेष घुम्ती शिविर सञ्चालन हुने भएकाले सवैले सहभागित जनाई सुविधाको भरपुर उपभोग गर्न समेत सवै भक्तपुरवासी नागरिकलाई आग्रह गर्नुभयो ।

आफ्नो कार्यकालमा भक्तपुरको मुहार फेरिने बताउँदै सुशासन युक्त तथा भ्रष्टाचार मुक्त भक्तपुर निर्माण गर्न अभियान नै सञ्चालन गर्ने तयारीमा रहेको जानकारी गराउनुभयो । उहाँले भक्तपुरमा अनियमितता र घुसखोरीको अन्त्य गराउन सम्बन्धीत निकायसँग विशेष प्रकारको छलफल भइरहेको र आगामी केही समयपश्चात बढी मात्रामा जनताको प्रत्यक्ष संलग्नता हुने निकायमा हेल्प डेक्स राखी जनताको सेवामा लाग्ने समेत बताउनुभयो ।

भक्तपुरमा आनव अधिकारको मात्र नभई पशु अधिकारको वारेमा समेत बहस शुरु भएको जानकारी गराउँदै सांसद बस्नेतले भक्तपुरमा हनुमन्ते नदी तथा अरनीको राजमार्गको सफाई अभियानले आम भक्तपुरका जनतामा एक आपसमा सहकार्य, सद्भाव तथा जनचेतनाको विकास भएको बताउनुभयो । उहाँले सफाई अभियानले एउटा सडक तथा नदीमा रहेको फोहोरलाई व्यवस्थापन गर्ने मात्र नभई भक्तपुरमा हुने विभिन्न प्रकारका विकृति, विसंगति, हिंसा, दुव्र्यसनी जस्ता अपराधजन्य कुराहरु समेत न्युनिकरण हुँदै गएको बताउनुभयो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com