देश अधिनायकवादतर्फ नभएर समाजवादतर्फ अगाडि बढ्छ : प्रम ओली
काठमाडौँ, २० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले देश अधिनायकवादतर्फ नभएर समाजवादतर्फ अगाडि बढेको बताएका छन ।
बुधबारदेखि काठमाण्डौमा सुरु भएको राष्ट्रिय विकास परिषदको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही राजनीतिक दलले देश अधिनायकवादतर्फ अगाडि बढ्यो भनेर हल्ला फिँजाएको बताउदै उनले भने, देश अधिनायकवादतर्फ नभएर समाजवादतर्फ अगाडि बढेको छ ।
प्रधानमन्त्री ओलीले समर्थन र विरोध तथा आलोचना र टिप्पणीअनुसार नै राजनीति अघि बढ्नुपर्ने बताउदै लोकतान्त्रिक मूल्य मान्यताअनुसार प्रतिस्पर्धामा जानु पर्ने बताए ।
उनले भने, ‘कुनै दलले फेद न टुप्पोका विरोध गरेर अगाडि बढेर कँही पुगिँदैन । उहिले नि हल्ला त चलेकै हो नि । ६० वर्षका माथिकालाई गोली हानेर मार्छ भनेर पनि हल्ला चलाए । कम्युनिष्ट पार्टीको सरकार आएपछि त पेस्तोल त आफै अगाडि तेर्स्याउनुपर्यो । त्यस्तो हो भने त हामी बाँकी नै रहन्थेनौ नि ।यस्ता खालका हल्ला चलाएर राजनीति गर्नु हुँदैन ।’