अरनीको राजमार्गमा फोहोर फाल्दै हुनुहुन्छ ? तपाइलाई सिसि क्यामराले हेरीरहेको छ !
भक्तपुर, २० चैत । सफा, सुन्दर, हराभरा, सुरक्षित बनाउने उद्देश्यका साथ शुरु गरिएको हनुमन्ते नदी तथा अरानीको राजमार्ग सफाई अभियानलाई प्रभावकारी बनाउन आजदेखि राजमार्गमा सिसि क्यामरा जडान गरिएको छ ।
हनुमन्तेको ५७औं हप्ताको अवसरमा आज सूर्यविनयाक चोक छेउमा राजमार्गमा हुने प्रदुषण तथा दुर्घटना न्युनिकरण गर्ने साथै सफाई अभियानलाई व्यवस्थित बनाउन दुई वटा सिसि क्यामरा जडान गरिएको छ । सूर्यविनायक नगरपालिका वडा नं. ८ का वडाध्यक्ष किरण थापाको विशेष पहल तथा ज्योती विकास सहकारी संस्थाको संचालक यादव राईको सहयोगमा उक्त सिसि क्यामरा जडान गरिएको हो ।
महेश्र्वरी पेट्रोल पम्पसँगैको काल्चा खोल्चिमा पटक पटक सरसफाइ गर्दा पनि लुकिछिपी फोहर फाल्ने क्रम नरोकिएकोले समाजसेवी राईको सहयोगमा उक्त स्थानमा २ वटा सि।सी क्यामेरा जडान गरि फोहोर फ्याँक्नेलाई सार्बजनिक अपराध एेन अनुसार कारवाही गर्ने उदेश्यका साथ सि ।सि। क्यामरा जडान र सुचारु गर्ने कार्य सम्पन्न भएको छ ।
पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतकोे विशेष संरक्षण र पहलमा शुरु भएको उक्त अभियानले भक्तपुरमा भएको फोहोर संकलन गर्नेमात्र नभई भक्तपुरमा भएका विकृति तथा विसंगतिहरुलाई समेत न्युनिकरण गर्दै गइरहेको छ । अभियानले मानविय भावनात्मक विकासको साथ साथै विकास निर्माणका कार्यहरुको स्थलगत मूल्याङ्कन तथा निरिक्षण समेत हुने गरेको छ ।
अभियानले मानविय चेतनाको विकास गर्दै समृद्ध भक्तपुर : सुखी भक्तपुरका जनता बनाउने कार्यलाई मूख्य रुपमा भूमिका निर्वाह गर्दै गएको छ । अभियानसँगै जोडिएर पछिल्लो समय कोटेश्वरको जामलाई समेत न्युनिकरणका अस्थायी तथा स्थायी समाधानका उपायहरु अपनाई कामले तिव्रता पाएसँगै केही मात्रामा उपत्यकावासीले जामको समस्याबाट मुक्त हुन शुरु भइसकेको छ ।
सांसद बस्नेलते सिसि क्यामराको उद्घाटन गर्दै आगामी दिनमा फोहोर गरे क्यामरामा कैद हुने र सोही अनुसार कानुनी कारवाही गर्ने बताउनुभयो । उहाँले कालचा खोल्छीमा ६ मिटरको करिडोर निर्माण गरिने भएको समेत जानकारी गराउनुभयो । प्रत्येक अभियानमा नयाँ प्रकारका कार्य जनताले देखिने गरी हुनपर्नेमा जोड दिँदै उहाँले सफाई अभियानको तर्फबाट बारा र पर्सामा विनाशकारी हावा हुरी प्रभावितलाई चार लाख १० हजार सहयोग गरेको समेत जानकारी गराउनुभयो ।
कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, फूलवारी, नेप्सेम्याक, पातञ्जल योग समिति, विभिन्न संघ संस्था, विभिन्न पार्टीका नेता तथा कार्यकर्ता, जनप्रतिनिधि, मूख्य उप्रेरक रुद्र पौडेल लगायत स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो ।