महानिरीक्षक खनालद्वारा मनोहरा करिडोरको निरीक्षण

काठमाडौँ, २२ चैत । बलराम प्यासी । मनोहरा खोला किनारमा ढल विच्छयाउने काम डेढवर्षसम्मा नसकिएर सर्वसाधारण र साना सवारीसाधनको आवामनमा वाधा पुगेको सर्वसाधारणको पटकपटकको गुनासोपछि बिहीबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफैं करिडोर खोल्न कोटेश्वर बालकुमारी पुल पुगे ।

महानिरीक्षक खनाल त्यहाँ पुग्नुअघि नेपाल प्रहरीको बा १ ग २७९८ नं को डोजर/एक्साभेटर लिएर महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, एसएसपि बसन्त पन्त बालकुमारी पुलमुनिको माटो सम्याउने कार्यमा खटिईसकेका थिए । उनीसंग महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्री र काठमाडौं परिसर प्रमुख, एसएसपि बसन्त लामा पनि पुगेका थिए ।

काठमाडौंको ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरी महाशाखाले विहीबारदेखि तीनमहिने ‘प्रदुषण नियन्त्रण तथा ट्राफिक व्यवस्थापन सुधार कार्ययोजना—२०७५’ शुरु गरेलगत्तै महानिरीक्षक खनाल त्यसको कार्यान्वयनको पहिलो काम गर्न बालकुमारी करिडोर खोल्न पुगेका थिए ।

करिडोर खोल्ने कार्यमा सहभागी भएका महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले सवारी आवागमन चुस्त बनाउन र पैदलयात्रुको सुरक्षा र सुविधाको लागि कसै न कसैले पहल गर्नैपर्ने भएकोले नेपाल प्रहरीले यसको शुरुवात गरेको र यो कार्यले निरन्तरता पाउने बताए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, एसएसपि बसन्त लामाले कोटेश्वर चक्रपथको सर्भिस ट्रयाकदेखि जुनसुकै भित्री सडकमा मनलागी सवारी साधन पार्किंग गर्नेलाई कारवाही गर्न आफुले मातहतको प्रहरी निकायलाई निर्देशन दिईसकेको बताए ।

संघीय संसदको चुनावलगत्तै मनोहरा करिडोरमा ढल विच्याउने कार्य शुरु भएकोमा डेढवर्ष भईसक्दापनि काठमाडौं निर्वाचन क्षेत्र नं २ का सांसद माधवकुमार नेपालले चासो नदिएपछि विगत लामो समयदेखि सो बाटो प्रयोगकर्ता सर्वसाधारणलाई अप्ठेरो परेको थियो भने यसैका कारण स्थानीय मतदाता असन्तुष्ट हुँदै आएका थिए । आफ्नो क्षेत्रका सांसदले चासो नदिएपछि स्थानीय वासिन्दाहरुले नेपाल प्रहरीसंग करिडोर सुचारु गर्न माग गर्दै आएका थिए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com