नेपालले लोकतन्त्र र मानवअधिकारको प्रवर्द्धन गरेको छ : सभामुख महरा

दोहा, २६ चैत । सभामुख कृष्णबहादुर महराले नेपालले लोकतन्त्र र मानवअधिकारको प्रवर्द्धन गरेको बताएका छन ।

कतारको दोहामा अन्तर व्यवस्थापिका संघ (आइपीयू)को १४० औं सभालाई सम्बोधन गर्दै सभामुख महराले नेपालको संसदले लोकतान्त्रिक मूल्यमान्यता, मानवअधिकार, समानता र कानुनी शासनको संरक्षण र प्रवर्द्धन गर्दै आएको बताएका हुन ।

राजनीतिक नेतृत्व र विधायकहरुले आफ्ना देशका विशिष्ट आवश्यकता र विकासको अवस्थालाई ध्यान दिँदै उपयुक्त नीति निर्माण गर्नुपर्नेमा जोड दिदै सभामुख महराले भने, ‘जनताको प्रतिनिधिको रुपमा संसदले कानून निर्माण, बजेटरी नियन्त्रण र सरकारका नीति तथा कार्यक्रमको निरीक्षणमार्फत् सकारात्मक परिवर्तन स्थापित गर्न सक्छ ।’ ‘राजनीतिक नेतृत्व र जनप्रतिनिधिहरुले देशका विशिष्ट आवश्यकताहरुलाई ध्यान दिई नीति निर्माण गर्नुपर्दछ ।’

नेपालले विद्यालयलाई शान्ति क्षेत्रको रुपमा पहिचान गरेको भन्दै सभामुख महराले द्वन्द्व र संकटको समयमा बालबालिकाको शिक्षाको अधिकार कुण्ठित हुनबाट जोगाउने प्रयास गरिएको बताए ।

सबैलाई समावेशी र समतामूलक शिक्षाको अवसर प्रदान गर्नु दिगो विकास लक्ष्यको एक आयाम रहेको बताउँदै सभामुख महराले भने, ‘महिला, अल्पसंख्यक वर्ग र अन्य सीमान्तकृत समूहलाई न्याय सुनिश्चित गर्न सरकार र समाजका अन्य क्षेत्रको सामुहिक प्रयास आवश्यक रहन्छ ।, ‘गरिबी, असमानता र असुरक्षाको विरुद्ध लड्न र सांस्कृतिक, धार्मिक तथा वैचारिक विविधताप्रति सहिष्णुता र सम्मान कायम गर्न शिक्षा शक्तिशाली साधन हो ।’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com