‘नेपाल भ्रमण वर्ष २०२०’ पोखराबाट सुरु हुने

काठमाडौँ, २६ चैत । सरकारले पोखराबाट ‘नेपाल भ्रमण वर्ष २०२०’ को पूर्व सुरुवात ‘सफ्ट लञ्चिङ’ गर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आगामी चैत ३० गते भ्रमण वर्षको सुरुवात गर्ने जनाएको छ । चैत २७ गते प्रधानमन्त्रीको अध्यक्षतामा भ्रमण वर्ष मूल आयोजक समितिको बैठक बस्ने र पोखराबाट पहिलो चरणको सुरुवाति कार्यक्रम घोषणा गरिने मन्त्रालयका प्रवक्ता धनश्याम उपाध्यायले जनाएको छ ।

भ्रमण वर्ष मनाउन पर्यटनमन्त्री अध्यक्ष रहनेगरी मूल आयोजक समिति र कार्यक्रम कार्यान्वयन उपसमितिको उपाध्यक्ष तथा राष्ट्रिय कार्यक्रम संयोजकमा व्यवसायी सुरज वैद्य नियुक्त भएका छन ।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको गएकाे फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी दुःखद् निधन भएको थियो । अहिले पर्यटन मन्त्रीको जिम्मेवारीसमेत प्रधानमन्त्रीले लिएका छन ।

अध्यागमन विभागको पछिल्लो विवरणअनुसार सन् २०१९ को पहिलो दुई महीना जनवरी र फेब्रुअरीमा दुई लाख १६ हजार विदेशी पर्यटक नेपाल आएका छन् । सन् २०१८ मा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com