प्राविधिक तथा गुणस्तरिय शिक्षा अहिलेको आवश्यकता : सांसद बस्नेत

भक्तपुर, २७ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले प्राविधिक तथा गुणस्तरिय शिक्षा अहिलेको आवश्यकता रहेको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय फ्रेन्चाइज शैक्षिक संस्था युरो किड्स इन्टरनेशनलबाट गत मंसीरमा उदाउँदो केन्द्र (एमरजिंग सेन्टर) को रुपमा पुरस्कृत भक्तपुर युरो किड्स प्रा.लि. सल्लाघारीले मंगलबार आयोजना गरेको दिक्षान्त तथा अभिभावक दिवसमा बोल्दै सांसद बस्नेतले विद्यालयले विद्यार्थीलाई सिकाएका कुराहरु व्यवहारिकतामूखी हुनुपर्नेमा जोड दिनुभयो ।

समय र परिस्थिती अनुसारको पाठ्यक्रम निर्धारण गरी प्राविधिक कुरालाई विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले देशमा लाखौं प्राविधिकको आवश्यक रहेको बताउँदै वर्तमान समयमा प्राविधिक तथा गुणस्तरिय शिक्षा अनिवार्य रहेको बताउनुभयो ।

पछिल्लो समय नीजि विद्यालयमा अंग्रेजी भाषाको प्रतिपर्धाका कारण विद्यार्थीले नेपाली भाषा प्रयोग गर्न नसक्ने परिस्थितीको निर्माण भइरहेकाले त्यसलाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘कुनै नगरपालिकामा काम गर्न आएका कक्षा १२ पास गरेका विद्यार्थीलाई निवेदन लेख्न लगायो भने नेपालीबाट मिति लेख्न समेत समस्या हुन्छ । त्यही मितिलाई अंग्रेजीमा भन्यो भने तुरुन्त लेख्न सक्छन् । यसबाट के देखिन थालेको छ भने हाम्रो देशको नेपाली भाषा भन्दा अंग्रेजी भाषाले व्यापक रुपमा स्थान पाइरहेको छ नेपाली भाषा खस्कदो छ । यस्तो परिस्थितीलाई नीजि विद्यालयले विशेष ध्यान दिनुपर्छ ।’

पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले भक्तपुर शैक्षिक क्षेत्रमा नेपालकै एक महत्वपूर्ण जिल्ला रहेको बताउँदै आगामी दिनमा भक्तपुरलाई शिक्षाको हवको रुपमा विकास गर्दै अघि बढ्ने बताउनुभयो ।

विद्यालयमा सिकाइएका कुराहरुलाई समाज रुपान्तरणको लागि प्रयोग गर्दै सरकारको समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थकतामा पुर्याउन आ–आफ्नो तह र तप्काबाट सवै नेपाली एक ढिक्का भई लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले शिक्षाले मानिसको भाग्य र भविष्यको बाटो निर्धारण गर्ने बताउनुभयो । उहाँले देशमा शिक्षाको विकास र विस्तारको लागि सरकारले कुल बजेटको करिव १० प्रतिशत छुट्याएको जानकारी गराउनुभयो ।

उहाँले युरो किड्सले विद्यार्थीको मनोविज्ञानलाई नियाली अध्यन अध्यापन गर्ने गरेकोमा विशेष धन्यवाद व्यक्त गर्नुभयो । सांसद बस्नेतले युरो सिनीयर उतिर्ण सबै विद्यार्थीलाई दिक्षित गरेका थिए । सांसद बस्नेतले तीनवर्षको छोटो अवधिमा भक्तपुर युरो किड्स प्रालिले प्राप्त गरेको सफलताको लागि वधाई तथा शुभकामना पनि दिए ।

सोही अवसरमा सांसद बस्नेतले भक्तपुर युरो किड्सकी शिक्षिका निशा भट्टराईलाई उत्कृष्ट शिक्षिका पुरस्कार तथा गोमादेवी सत्याललाई उत्कृष्ट सहयोगी दिदीको पुरस्कार पनि प्रदान गरे ।

कार्यक्रममा भक्तपुर युरो किड्स प्रालिका सञ्चालक अध्यक्ष सुनेत्र प्रधानाङ्ग, प्रवन्ध निर्देशक नवराज काफ्ले तथा प्रिन्सिपल ज्योति क्षेत्रीले भक्तपुर युरो किड्सका विविध गतिविधिबारे प्रकाश पारेका थिए भने अभिभावक पारु ज्ञवालीले अभिभावकको तर्फबाट बोलेकी थिइन ।

कार्यक्रममा प्रमुख अतिथि सांसद बस्नेतलाई भक्तपुर युरो किड्स प्रालिका सञ्चालक अध्यक्ष सुनेत्र प्रधानाङ्ग तथा प्रवन्ध निर्देशक नवराज काफ्लेले उपहार प्रदान गर्दै सम्मान गरेका थिए ।

निवर्तमान प्रिन्सिपल एवम् वर्तमान शैक्षिक निर्देशक विनु गोदार थापाका अनुसार तीनवर्षअघि स्थापित भक्तपुर युरो किड्समा हाल १ सय ३० जना विद्यार्थी अध्ययनरत छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com