सरकारद्वारा सगरमाथाको उचाइ नाप्ने नेपाली टोलीलाई विदाइ
काठमाडौँ, २७ चैत । सरकारले सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्ने नेपाली टोलीलाई विदाइ गरेको छ ।
बुधबार बिहान नापी विभागको टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा विदाइ गरेका हुन् । विदाई कार्यक्रममा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालको पनि सहभागीता थियो ।
नापी विभागको टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रविन कार्की, सर्भेयर सुरजसिंह भण्डारी र अमिन युवराज धिताल रहेका छन् ।
टोलीलाई बिदाई गर्दै प्रधानमन्त्री ओलीले एक सेन्टिमिटर पनि फरक नपर्ने गरी यथार्थ उचाइँ नाप्न सुझाव दिदै उनले भने, ‘सगरमाथाको टुप्पोमा स्केल राखेर एक सेन्टिमिटर पनि फरक नपर्ने गरी यथार्थ उचाइ नाप्नुहोला ।’
प्रधानमन्त्री ओलीले उचाइ नाप्न जाने टोलीलाई स्वास्थ्यको ख्याल राख्न पनि सुझाव दिदै भने, ‘स्वास्थ्यको ख्याल गर्नुहोला । मौसमले साथ दिएन भने नचढ्नुहोला । सगरमाथा यही रहन्छ, फेरि अर्को चोटी नाप्न सकिन्छ ।, ‘गाइडले जे निर्देशन दिन्छ हरेक निर्देशन पालना गर्नुहोला ।’
यसअघि सन् १९५४ मा भारतीय नापी विभागको टोलीले र १९९९ मा अमेरिकी टोलीले सगरमाथाको उचाइ नापेका थिए । भारतीय टोलीले ८,८४८ र अमेरिकी टोलीले ८,८५० मिटर अग्लो सगरमाथा रहेको निष्कर्ष निकालेका थिए ।
टोली बुधबारै सगरमाथातर्फ प्रस्थान गर्ने छ भने उक्त टोलीले आउँदो डिसेम्बर महिनाभित्रै रिपोर्ट बुझाउने मन्त्रालयको विश्वास छ ।