स्रोतसाधनलाई उपयोग गर्यौँ भने समृद्धि टाढाको विषय होइन : मन्त्री बाँस्कोटा
काभ्रे, २८ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सही तरिकाले आफ्ना स्रोतसाधनलाई उपयोग गर्यौँ भने समृद्धि टाढाको विषय नभएको बताउनुभएको छ ।
दोलालघाट भुम्लु बृहत् पर्यटन मेला तथा दोलालघाट महोत्सव–२०७६ को बुधबार उद्घाटन समारोहमा मन्त्री बाँस्कोटाले सबैको एकताबद्ध सोच र प्रतिबद्धताले मात्रै गरीबी न्यूनीकरणको यात्रा सफल हुने बताउनुभयो ।
वार्षिक एक प्रतिशतले गरीबी घटाइने दावी गर्दै उहाँले भन्नुभयो, “हामी वार्षिक एक प्रतिशतका दरले गरीबी घटाउने उद्देश्यका साथ समृद्धिको अभियानमा अघि बढिरहेका छौँ ।” उहाँले पाँच वर्षभित्र गरीबी दर १३ प्रतिशतमा ल्याइने जिकिर पनि गर्नुभयो ।
उहाँले पर्यटनले आफ्नो पहिचान जोगाउने बताउँदै आफ्नै स्थानका उत्पादनलाई जोड दिँदै पर्यटकीय पहिचान कायम राख्नुपर्ने धारणा राख्नुभयो । “मानिस र पृथ्वीको रक्षा गर्दै विकासलाई तीव्रता दिने हो, मानिस र पृथ्वीको रक्षाविना समृद्धिको कुनै अर्थ रहन्न”, उहाँले भन्नुभयो, “प्राकृतिक स्रोत र सौन्दर्य बिगार्दै मानिस र पृथ्वी नरहने विकास हामीले चाहेका होइनौँ ।” निर्वाचनमा आफूले गरेको प्रतिबद्धतामा पाँच वर्षपछि कसैले प्रश्न गर्न नसक्ने उहाँको दाबी थियो ।
उक्त मेला आउँदो वैशाख ४ गतेसम्म सञ्चालन हुनेछ ।