जीप दुर्घटना : पूर्वसांसद भण्डारीसहित २ जनाको मृत्यु, ८ घाइते

गुल्मी, २८ चैत । गुल्मीमा जीप दुर्घटना हुँदा पूर्वसांसद रुद्रमणि शर्मा भण्डारीसहित दुई जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

बिहीबार बिहान लु १ ज १९५७ नम्बरको जीप मुसिकोट नगरपालिका १ च्यानडाँडामा दुर्घटना हुँदा ७२ वर्षीय भण्डारीको मृत्यु भएको प्रदेश नम्बर ५ का प्रहरीले जनाएको छ ।

दुर्घटनामा मालिका गाउँपालिका वडा नम्बर १ निवासी ८ वर्षीय ओश्कर विकको समेत मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । जीप दर्लिनबाट बुटवल जाँदै थियो । जीपमा १० जना सवार थिए ।

दुर्घटनामा घाइते हुनेहरुमा मालिका गाउँपालिका वडा नम्बर २ बस्ने सुर्य थापा, सोहि वडाकै कोशिला थापा, गाडी चालक कमल पुरी, कृतिमा थापा, जेनिस थापा, नरेन्द्र श्रीस छन् ।

यसैगरी मुसिकोट नगरपालिका १ का ४० वर्षीय भोजबहादुर भट्टराई र ३८ वर्षीया रिमा भट्टराई पनि घाइते भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जानकारी दिएको छ घाइतेहरुलाई उपचार गर्न वामी टक्सार र गुल्मी अस्पताल तम्घासमा लगिएको छ ।

धुर्कोट गाउँपालिका वस्तु निवासी भण्डारी २०४८ सालमा गुल्मीको तत्कालीन क्षेत्रनम्बर ३ बाट नेपाली कांग्रेसबाट सांसद बनेका थिए । भण्डारी हाल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थिए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com