इन्जिनियर्सको लगानीमा हाइड्रोदेखि न्युनतम पारिश्रमिक

काठमाडौँ, ३० चैत । नव निर्वाचित नेपाल ईन्जिनियर्स एशोसिएशनले आफ्नो चुनावी एजेण्डलाई पुरा गर्दै इन्जिनियर्सहरुको लागानीमा हाइड्रो पावर सञ्चालन गर्नेदेखि लिएर न्युनतम पारिश्रमिक निर्धारणसम्मका कामहरु गरेको छ ।

एशोसिएसनका अध्यक्ष अध्यक्ष ई. प्रा.डा. त्रिरत्न बज्राचार्यको संयोजकत्वमा शुक्रवार ललितपुर स्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गर्दै देशमा संघिय संरचनालाई चुस्त र सहज तरिकाले संचालन गर्ने सिलसिलामा विद्यमान अवस्थामा सरकारका देखिएका चुनौतिहरुलाई केन्द्र, प्रदेश र स्थानीय समितिहरुको समन्वयात्मक भूमिका तथा आफ्नो क्षेत्राधिकार, दायित्व तथा पेशागत गतिविधिहरु सञ्चालनमा देखिएका समस्याहरुलाई समाधान गर्न गम्भीरतापूर्वक लागिपरिरहेको बताएको छ ।

एशोसिएसनले विज्ञप्ती जारी गर्दै कार्यकारिणी समितिले पदभार ग्रहण गरे पश्चात गरेका गतिविधिहरुलाई स्पष्ट गरेको छ । इन्जिनियरिङ स्टाफ कलेज स्थापनाको कार्यलाई अघि बढाएको, इन्जिनियरिङ सेवा ऐन लागु, ईन्जिनियर सदस्यहरुको मात्र व्यक्तिगत लगानीमा करिब ५० देखि १०० मेगावट क्षमताको इन्जिनियरिङ हाइड्रो, दुर्घटना विमा, न्युनतम पारिश्रमिक, एक्सन प्लान तय, प्रदेश तथा स्थानीय केन्द्र सञ्चालन सम्बन्धी नियमावली तयार गरेको लगायतका कामहरु भएको विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

त्यस्तै एशोसिएसनले प्रत्येक महिनाको शुक्रवार राष्ट्रिय गौरव तथा राष्ट्रिय पूर्वाधार विकास वहसको श्रृङ्खला शुरु गरेको समेत जानकारी दिएको छ । एशोसिएसनले चैत १७ गते गएको विनाशकारी हावा हुरी प्रभावितको स्थलगत अध्ययन गरी विस्थापितको पूर्नवासको लागि सहजीकरण गर्ने तथा नेपाल सरकारलाई सुपरिवेक्षण तथा प्राविधिक पक्षको सम्पूर्ण सहयोग निशुल्क गर्ने भएको छ ।

विज्ञप्तीमा एशोसिएसनको विभिन्न कालखण्डमा देशमा घटेका राजनैतिक परिवर्तनको घडिमा होस् अथवा इृन्जिनियर सदस्य, राष्ट्र तथा समाजको लागि आफ्ना उद्देश्य अनुसार अघि बढ्न कुनै पनि कसर बाँकी नराख्ने समेत प्रतिवद्धता व्यक्त गरेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com