जुम्ला विमानस्थल बन्द हुने

जुम्ला, ३ वैशाख । जुम्ला विमानस्थल २० दिनका लागि बन्द हुने भएको छ । बाँकी रहेको स्तरोन्नतिको काम गर्नका लागि यही वैशाख ५ गतेदेखि विमानस्थल बन्द हुने भएको हो ।

अघिल्लो पटक २०७५ कार्तिक ८ गतेदेखि विमानस्थल बन्द गरी स्तरोन्नतिका काम भएको थियो । विमानस्थलको स्तरोन्नतिको कामले तीव्रता पाउने छ । विमानस्थलको रनवे र पार्किङतर्फ घास उम्रनेदेखि पहिले गरेको कालोपत्रे उप्किसकेकाले स्तरउन्नति गर्न लागिएको हो ।

अहिले विमानस्थल जीर्ण हुँदै गएकाले स्तरोन्नति गरेर सुरक्षित बनाइने भएको छ । विमानस्थल २० दिन बन्द हुने भएपछि जुम्लादेखि सुर्खेत, नेपालगञ्जसम्मको हवाई सेवा प्रभावित हुने भएको छ । विसं २०४० देखि जुम्ला विमानस्थल मर्मतको काम हुन सकेको थिएन ।

विमानस्थलको कालोपत्रे उप्किएको, घाँस उम्रिएर जहाज अवतरण गर्न र उडान भर्न समस्या हुने गरेको थियो । जुम्लामा तारा, सीता, समिट र नेपाल एयरलाइन्सको जहाजले उडान भर्ने गरेका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com