सञ्चारमन्त्रीको राजिनामा माग गर्दै महासङ्घ आन्दोलनमा

काठमाडौँ, ५ वैशाख । नेपाल पत्रकार महासङ्घले पत्रकारलाई विद्युतीय कारोवार ऐन अन्तगर्त पक्राउ गर्ने क्रम रोक्न माग गर्दै बिहीबार देशैभरी प्रदर्शन गरेको छ ।

विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को प्रयोग गरेर पत्रकारलाई समाचार लेखेकै कारण पटक–पटक पक्राउ गर्ने क्रम बढेपछि बिहीबार सबै जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना दिइएको पत्रकार महासंघले जनाएको छ ।

निर्वाध प्रेस स्वतन्त्रता उपभोगमा अवरोध खडा नगर्न आग्रह गर्दै जिल्ला शाखाहरुको अगुवाईमा बिहान साढे ९ देखि साढे १० बजेसम्म प्रदर्शन गरिएको महासंघका महासचिव रमेश विष्टले जानकारी दिनुभयो ।

यसै क्रममा भक्तपुरमा महासंघकै नेतृत्वमा जिल्ला प्रशासन कार्यालय घेराउको क्रममा विभिन्न मिडियाका पत्रकारहरुले दफा ४७ र ४८ को खारेजी तथा वर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा तथा प्रेस काउन्सीलका अध्यक्षको राजिनामा माग गरेका छन् ।

कार्यक्रममा दफा ४७ र ४८ खारेज गर, सञ्चारमन्त्रीले राजिनामा दे, प्रेस स्वतन्त्रताको ज्ञारेन्टी गर, पक्राउ गरिएका सम्पूर्ण पत्रकारहरुलाई विनासर्त रिहाइ गर लगायतका नाराहरु लगाइएका थिए । त्यस्तै प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षणपत्र समेत बुझाइएको छ ।

पत्रकारहरुले कार्यक्रममा आफ्नो क्यामरा तथा कलम डाउन गरी विरोध गरेका थिए । उक्त विरोध कार्यक्रममा ऐनको दफा ४७ र ४८ नमान्ने भन्दै सांकेतिक रुपमा व्यानरमा लेखिएको शब्दलाई समेत मेटाउने कार्य गरिएको छ ।

महासङ्घले विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ को खारेज गर्न तथा समाचार लेखेकै कारण पोखरामा पक्राउ परेका पत्रकार अर्जुन गिरीको रिहाइको माग पनि गरेको छ ।

यसबारेमा महासङ्घ केन्द्रीय समितिले गृह मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत विरोधपत्र बुझाउने र विरोधका थप कार्यक्रम सञ्चालन गर्ने समेत महासंघले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com