नेपाल हिमाल र बुद्धको देश मात्र हैन, खेलाडी उत्पादन हुने देश भनेर पनि चिनिने छ : सांसद पहारी

पोखरा, ६ बैशाख । गण्डकी प्रदेशका सांसद तथा निवर्तमान युवा संघ नेपालका अध्यक्ष राजिव पहारीले नेपाल अब हिमाल र बुद्ध जन्मिएको देशले मात्रै चिनिने नभई नेपालमा प्याराग्लाइडिङ खेलाडी उत्पादन हुने देश पनि हो भनेर समेत चिनिने बताउनुभएको छ ।

पोखरामा पहिलो पटक हुन लागेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पोखरामा बैशाख ६ गते (शुक्रबार)बाट सुरु हुने प्रतियोगिताको बिहिबार एक समारेहकाबीच उद्घाटन गर्दै गण्डकी सांसद पहारीले प्याराग्लाइडिङ बिनाको पोखरा अब कल्पना समेत गर्न नसकिने बताउनुभयो । सांसद पहारीले राज्यको लगानी नरहेको खेल प्यारागलाइडिङले १८ औं एशियाली खेलकुदमा रजत पदक जितेर राज्यलाई प्याराग्लाइडिङ खेलमा लगानी गर्नु पर्छ भन्ने बलियो सन्देश प्रबाह गरेको बताउनुभयो ।

विश्वको शाहसिक खेल गतिविधी र पर्यटनको गन्तब्यका लागि पनि प्याराग्लाइडिङ खेलले निकै महत्व राख्ने हुनाले पनि प्याराग्लाइडिङ खेलको विकास गर्न आवश्यक्ता रहेको उल्लेख सांसद पहारी भन्नुभयो, ‘पोखराको नयाँ बिमानस्थल सञ्चालन पछि पोखरा बाट प्याराग्लाइडिङ खेल हट्छ भनेर अनाहकमा हल्ला फैलाउने काम भएको छ, यो भ्रम मात्रै हो ।’

सांसद पहारीले नेपालमा पहिलो पटक संचालन हुन लागेको प्रतियोगितामा, प्रतियोगिताका इभेन्ट म्यानेजर तथा १८ औं एशियाडका रजत पदक बिजेता बिमल अधिकारीलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै प्रतियोगिताको औपचारिक रुपमा उद्घाटन गर्नुभयो । उहाँले प्रतियोगितामा सहभागी सबै प्रदेश र नेपाली सेनाका टिम म्यानेजरहरुलाई आ–आफ्नो प्रदेशको लोगो अंकित झण्डा पनि हस्तान्तरण गर्नुभयो ।

करिब २० वर्ष इतिहास बोकेको नेपालको प्याराग्लाइडिङ खेलमा पहिलो पटक राष्ट्रिय खेलमा समावेश गराइएको हो । आठौं राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउन ५९ जना खेलाडी पोखरा आइपुगेको र सम्पूर्ण तयारी पुरा भएको नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघका (नेफा)का महासचिव शैलेन्द्र राउतले जानकारी दिनुभयो ।

पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जिबी पोखरेल, नेफाका अध्यक्ष रुपनारायण श्रेष्ठ, मिट डाइरेक्टर अजय कुमार शर्मा, नेपाल हवाई खेलकुद संस्था (ना)का अध्यक्ष एवम प्याराग्लाईडिङका लागि नेपालका मुख्य प्रशिक्षक योगश भट्टराई, ना का उपाध्यक्ष एवम प्राधिकारिक संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण भण्डारी, खेलकुद पत्रकार केशब पाठक, नेपाली सेनाका मेजर माधब जोशीले आ–आफ्ना धारणा राख्नुभएको थियो ।

प्रतियोगितामा प्रदेश १ बाट २ महिला सहित १० पुरुष, प्रदेश ३ बाट १ महिला र १० पुरुष, गण्डकी प्रदेश बाट ४ महिला र १० पुरुष, कर्णाली प्रदेश बाट ४ पुरुष, प्रदेश ७ बाट ४ पुरुष र नेपाली सेनाको त्रिभुवन क्लबबाट ३ महिला र १० पुरुषको सहभागिता रहने बताइएको छ ।

बैशाख ९ गते सम्म संचालन हुने प्रतियोगितामा प्याराग्लाइडिङ खेलका दुई वटा इभेन्ट हुनेछन । टिम इभेन्ट तर्फ एक्यूरेसी र टिम क्रस कन्ट्रि तथा इन्डिभिजुअल एक्यूरेसी र इन्डिभिजुअल क्रस कन्ट्री हुने छन । कुल ६ वटा स्वर्ण पदकका लागि प्रतियोगितमा खेलाडीहरु भिड्ने नेफाका सचिव इन्द्र भण्डारीले बताउनुयो ।

पुरुष १६ जना बाट १३ औं सागका लागि ‘वेष्ट अफ दि बेष्ट’ रेङकिङका आधारमा ८ जना छानिने छन् भने महिला ८ जना बाट सोही अनुसार ‘वेष्ट अफ दि बेष्ट’ रेङकिङमा ५ जना अन्तिम छनौटमा पर्नेछन् ।

प्रतियोगिताका लागि नेपाली सेनाको राहत तथा उद्धार टोलीले शुरक्षाका सबै प्रबन्ध मिलाउने छ । प्रतियोगिताका लागि उद्धारका सामाग्री सहित मोटर बोट र आवश्यक परेमा हेलिकप्टर समेत सेनाले प्रवन्ध मिलाउने भएको छ ।

प्रतियोगिताबाट रेङकिङको आधारमा महिला ८ र पुरुष १६ जना खेलाडीलाई राष्ट्रिय खेलाडीको रुपमा घोषणा गर्ने तयारी गरिरहेको नेफाले जनाएको छ । टिम इभेन्ट तर्फ एक्यूरेसी र टिम क्रस कन्ट्रि तथा इन्डिभिजुअल एक्यूरेसी र इन्डिभिजुअल क्रस कन्ट्री तर्फ घोषणा गरिने ति खेलाडीले नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद ९साग०का लागि छनौट समेत गरिने आयोजकले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com