जो व्यक्तिसँग सूचना र प्रविधिको ज्ञान छ, त्यो नै सबैभन्दा धनी : सांसद बस्नेत

भक्तपुर, ८ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले वर्तमान समयमा जो व्यक्तिसँग सूचना र प्रविधिको अधिकतम ज्ञान छ, त्यो व्यक्ति नै संसारको धनी हुने बताउनुभएको छ ।

शनिवार दक्षिणकाली महिला तथा बचत ऋण सहकारी लि.ले आजोजना गरेको दुई दिने सूचना प्रविधिमा महिलाको पहुँच विषयक तालिमको समापन कार्यक्रममा बोल्दै सांसद बस्नेतले सूचना प्रविधिको प्रयोग नै आर्थिक विकास र समृद्धिको आधार भएको बताउनुभयो । उहाँले सहकारीलाई सूचना प्रविधिमैत्री बनाउनुपर्ने जोड दिँदै सूचनाको प्रयोग गर्दै सहकारीले उत्पादको बृद्धि गर्दै व्यापारको व्यापक विस्तार गर्दै रोजगारीमूलक बनाउनुपर्ने बताउनुभयो ।

उहाँले उत्पादनलाई उद्योग र उद्योगलाई प्रविधिमैत्री बनाई देशको आर्थिक वृद्धिदरलाई उच्चतम विन्दुमा पुर्याउन सहकारीको भूमिका महत्वपूर्ण रहेको भन्दै सूचना प्रविधिको प्रयोग गर्दै उत्पादन, व्यापार, उद्योगसँग जोड्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले सूचना प्रविधिको प्रयोग गर्दा दुरुपयोग हुने कुरामा विशेष रुपमा सचेत हुनुपर्ने बताउँदै सूचना प्रविधि ऐन सरकारले ल्याएको जसबाट विकृति तथा विसंगतिको अन्त्य हुने समेत बताउनुभयो ।

सिकेको कुरालाई अभ्यास र व्यवहारमा लागु गर्नुपर्ने बताउँदै पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले सिकेको र ज्ञान लिएको कुरालाई समाजमा प्रयोगमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

जानकारी नदिने प्रवृत्तीले परम्परागत वैद्य औषधीहरु लोप भइरहेको बताउँदै उहाँले समाज परिवर्तन, जंगली युगदेखी आधुनिक युगसम्म आउँदा विभिन्न कालखण्डहरु पार गर्दै आएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘जंगली युगमा आमाहरुको राज्य हुने गरेको जुन समयमा जोसँग वढी सन्तान, शक्ति हुने मान्छे धनि हुने परम्परा थियो । त्यस पछि दासी बनाउने परम्पराबाट पितृसतात्मक सत्ताको शुरुवात भएको जुन समयमा जो दासी बढी हुन्थ्यो त्यो नै सवै भन्दा बढी धनी हुने परम्परा थियो ।’

स्रोत र साधनको कमिले नै समाजमा द्वन्द्व हुने र समाजमा परिवर्तन आउने गरेको बताउँदै उहाँले दासी युग पश्चात सामन्तवादी युग शुरु भएको र सामन्तवादी युगमा दासहरुको विद्रोह भई हालको परिस्थितीसम्म आइपुगेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘परम्परागत रुपमा धेरै गाई हुने, धेरै खेति हुने, धेरै उद्योग हुने धनि हुने परम्परा रहेको थियो । तर अहिले सवैभन्दा धनी जो व्यक्ति हो उ सँग सवैभन्दा बढी सूचना र प्रविधिको ज्ञान छ ।’ अर्धसामन्ती तथा अर्धपुँजीवादी वर्तमान हाम्रो समाज भएको बताउँदै पुँजीवादी युगको पनि उच्चतम अवस्थामा सूचना र प्रविधि रहेको बताउनुभयो ।

उहाँले विकासको क्रममा विश्वले फड्को मारिरहेको बताउँदै विश्व बैंकको तथ्याङ्क अनुसार नेपाल दक्षिण एसियाको तेस्रो आर्थिक वृद्धिदर भएको देश नेपाल हुन सफल भएको जानकारी गराउनुभयो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com