उपप्रधानमन्त्री पोखरेलद्वारा कोरोना भाइरसविरुद्धको खोप ल्याउनेबारे मन्त्रीहरुसँग छलफल

काठमाडौँ, २६ मंसिर । उपप्रधानमन्त्री तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का निर्देशक समितिका संयोजक ईश्वर पोखरेलले कोरोना भाइरसको खोप ल्याउने विषयमा मन्त्रीहरुसँग छलफल गर्नुभएको छ ।

शुक्रबार सिंहदरबारमा गृह, अर्थ, परराष्ट्र, सामान्य प्रशासन, स्वास्थ्य, पर्यटनमन्त्री, मुख्यसचिव र सचिवहरुसँग सामूहिक छलफल भएको छ । जनतालाई समयमै निःशुल्क खोप उपलब्ध गराउनेबारेमा सीसीएमसीमा आबद्ध मन्त्रीहरुसँग पछिल्ला सरकारका निर्णय र त्यसमा भैरहेको प्रगतिकाबारेमा छलफल गरिएको जनाइएको छ ।

उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, ‘समयमै जनतालाई निःशुल्क खोप उपलब्ध गराउने सन्दर्भमा छलफल भएको हो । त्यस बाहेकका कतिपय निर्णयको कार्यान्वयनका सन्दर्भमा पनि अनौपचारिक छलफल भएको छ ।’

बैठकले कोभिड–१९ भाइरस नियन्त्रण सम्बन्धी कार्यको बारेमा सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यका साथ प्रकाशन गर्ने, सीमा विन्दुमा हेल्थ डेस्क स्थापना गर्ने गरी उपचारका निम्ति चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई आवश्यकता अनुसार करार सेवामा नियुक्त गर्ने तथा कोभिड नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको भत्ता सम्बन्धमा देखा परेका केही व्यवहारिक कठिनाइका सम्बन्धमा पनि छलफल भएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com