मन्त्री नेम्बाङ्गद्वारा एकै दिन तीन आयोजनाको स्थलगत अनुगमन

झापा, २८ मंसिर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले झापा जिल्लामा तीन वटा पूल आयोजनाको स्थलगत अनुगमन गर्नु भएको छ ।

शनिबार रुग्ण अवस्थामा रहेका झापाका विरिङ खोला पुल, माईखोला पुल र झापा–मारेङ जिल्लाको सिमानामा रहेको रतुवा पूलको अनुगमन गर्नु भएको हो । नेम्बाङ्गले पुलहरुको निरीक्षण गर्दै स्थानीय सर्वसाधारणहरु, स्थानीय निकायका जनप्रतिनिधिहरुसँग पुल निर्माणमा देखिएका समस्याका विषयमा छलफल समेत गर्नु भएको छ ।

अनुगमनको क्रममा स्थानीय सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेम्वाङले लामो समयदेखि रुग्ण भएकाले समस्या समाधानका लागि अनुगमनमा आएको भन्दै उक्त आयोजनाहरुको काम अगाडी बढाउन कार्ययोजना बनाएर अघि बढ्न आयोजना प्रमुख तथा निर्माण व्यवसायीलाई निर्देशन दिइसकेको बताउनुभयो ।

तीन वटा पूलहरु मध्ये रतुवा पुल निर्माण कार्य सकिए पनि नदीले धार परिवर्तन गरेपछि त्यहाँ समस्या देखिएको पाइएको छ । उक्त समस्या समाधानको माग गर्दै स्थानीय तहका प्रमुखहरुले ज्ञापनपत्र बुझाएका छन् ।

पूलको निरीक्षणपछि मन्त्री नेम्बाङ्गले पुल निर्माणमा देखिएका समस्या समाधानका लागि त्यसका विस्तृत प्राविधिक पक्षहरु अध्ययन गरिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस्ता समस्या ग्रस्त आयोजनालाई त्यतिकै छाडिदैन । के गर्ने हो तुरुन्तै निर्णय हुन्छ ।’

मन्त्री नेम्बाङ्गले समस्या देखिएकैले आफुले मन्त्रालय मातहत कार्यान्वयन गर्ने मन्त्रालयका सचिव, महानिर्देशक, आयोजना प्रमुख सहित अनुगमनमा आएको बताउनुभयो । उहाँले आयोजनाहरुको कामलाई जतिसक्दो चाँडो अगाडी बढाउनु पर्ने भन्दै कार्ययोजना बनाएर कार्यान्वयनमा लाग्न निर्देशन दिनुभएको छ ।

हुलाकी राजमार्ग पर्ने तीनवटै पुलको अनुगमनमा मन्त्री नेम्बाङ्ग सहित झापा जिल्ला क्षेत्र नं। ४ का सांसद एल पी सावाँ, मोरङ १ का सांसद घनश्याम खतिवडा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ, सडक विभागमा महानिर्देशक केशवकुमार शर्मा र हुलाकी राजमार्गका आयोजना प्रमुख रोहित विसुराल लगायत स्थानीय पालिका प्रमुखसमेत सहभागी हुनुहुन्थ्यो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com