उपकरण जडान हुन नसक्दा अन्योलमा गौतमबुद्ध विमानस्थल

काठमाडौँ, ३ पौष । २०७१ साल माघ १ गते शिलान्यास गरिएको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विदेशी प्राविधिक आएको ९० दिनमा सञ्चालन गर्न सकिने गरी काम भएको आयोजनाले जनाएको छ ।

निर्माण सम्झौता भएर पाँचचोटि म्याद थप गरी निर्माण अगाडि बढाइएको राष्ट्रिय गौरवको यो आयोजना पछिल्लोपटकको समय थप गरेपछि समयमा सम्पन्न गर्नमा कोरोना महामारीले समस्या उत्पन्न गरेको छ ।

आयोजनाको भौतिक प्रगति ९३ दशमलव २५ प्रतिशत भए पनि प्राविधिक क्षेत्रको उपकरण जडानको काम पूरै बाँकी रहेको छ । आयोजनालाई चाहिने पूरै उपकरण आइसकेको तर ती उपकरण जडान गर्न जुन मुलुकबाट उपकरण आएको छ त्यही मुलुककको प्राविधिक चाहिने हुँदा ती प्राविधिक नआउँदासम्म विमानस्थलको पूरा काम सम्पन्न हुन नसक्ने आयोजना प्रमुख प्रवेश अधिकारीले बताउनुभयो ।

हालै रूपन्देही आउनुभएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले २५ दिनभित्रमा विमानस्थलको भौतिक काम पूरा गर्न निर्देशन दिनुभएको थियो । मन्त्रीलाई विदेशी प्राविधिक नआउँदासम्म आयोजनाको पूरा काम सम्पन्न हुन नसक्ने कुरा थाहा नभएको भन्दै यस विषयमा ध्यान दिई प्राविधिक ल्याउने विषयमा अगाडि बढ्न पनि आयोजनाले माग गरेको छ ।

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना कहरले गर्दा विमानस्थलमा प्राविधिक कामका लागि आउनुपर्ने चिनियाँ, अमेरिकन, अस्ट्रिया र थाइल्यान्डका प्राविधिक आउन नसकेकाले आयोजना निर्माणमा ढिलाइ भएको आयोजनाका प्रमुख अधिकारीले बताउनुभयो ।

प्राविधिक आएको ९० दिनभित्रमा विमानस्थलको सबै काम पूरा भई उडान भर्न सकिने आयोजना प्रमुख अधिकारीले बताउनुभयो । विदेशी प्राविधिकको आगमनमा आयोजना कहिले सम्पन्न हुने भन्ने कुरा निर्भर रहेको समेत उहाँले बताउनुभयो ।

नेपालमा अन्तर्राष्ट्रिय उडान अवरुद्ध रहेको र त्यहाँको सरकारले आफ्ना नागरिकलाई देश छोड्नमा प्रतिबन्ध लगाएको अवस्थामा आयोजना कहिलेसम्म भन्दा पनि विदेशी प्राविधिक नआउँदासम्म विमानस्थलमा उपकरण जडान शुरू नै नहुने आयोजना प्रमुख अधिकारीले स्पष्ट पार्नुभयो । यो समाचार आजको नेपाल समाचार पत्र दैनिकमा छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com