बीपी प्रतिष्ठान भ्रष्टाचारको अखडा

काठमाडौँ, १९ माघ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो कोभिड अस्पतालमा औषधि र सर–सामान आपूर्ति गर्न बिनाटेन्डर करोडौंको ठेक्का त्यस्तो व्यक्तिलाई दिएको छ, जो अख्तियारको मुद्दा खेपिरहेका छन् । सामान आपूर्तिमा अनियमितता गरेको अभियोगमा अख्तियारले चलाएको मुद्दा विचाराधीन रहेकै अवस्थामा चेतन अग्रवाल पुनः त्यस्तै कामका लागि प्रतिष्ठान छिरेका हुन् ।

तत्कालीन उपकुलपति डा. बलभद्र दाससँग मिलेर लेखिएको मूल्यभन्दा महँगोमा सामान उपलब्ध गराएको मुद्दामा उनी अदालत धाइरहेकै छन् । उक्त मुद्दामा उनी १० लाख रुपैयाँ धरौटीमा छुटेका थिए । कोभिड अस्पताललाई आवश्यक सामग्री खरिद गर्दा कोभिड मूल्यांकन समितिको सिफारिस लिनुपर्ने प्रावधान छ । तर, निर्देशक गौरीशंकर साहको मात्र सिफारिसमा उपकुलपति डा. ज्ञानेन्द्र गिरीले सोझै उक्त ठेक्का दिएका थिए ।

उपकुलपति डा. गिरीले कानुनविपरीत खरिदमा दबाब दिएपछि कोभिड अस्पताल प्रमुख डा. कृष्ण पोखरेलले त्यही क्रममा राजीनामा दिएकी थिइन् । कानुन मिचेर विभिन्न उपकरण र औषधि खरिद गर्न नमानेपछि खरिद शाखाका प्रमुख विष्णु चापागाईंलाई पनि अन्यत्र सरुवा गरिएको थियो । ‘जुन नेतृत्व आए पनि प्रतिष्ठान कमाउ अड्डा नै भइरहेको छ’, प्रतिष्ठान कर्मचारी कल्याण समाजका कार्यवाहक अध्यक्ष उमेश थापा भन्छन्, ‘उपकुलपति गिरीका पालामा पनि अनियमितता रोकिएन । बरु बढ्यो ।’

कालोसूचीमा राख्नुपर्ने व्यक्ति खोजी–खोजी ठेक्का दिने गरिएको छ । चेतन मात्र यसको उदाहरण होइनन्, अक्सिजन प्लान्ट बनाउने ठेक्का पाएका विज्ञान अर्यालले सम्झौताअनुसार काम गरेनन् । उनको काम अस्वीकृत त भयो तर प्रतिष्ठानले भुक्तानी प्रक्रिया अघि बढाएको उच्च स्रोतले जानकारी दियो । ‘उनलाई कालोसूचीमा राख्ने छलफल हुँदै थियो’, लेखासम्बद्ध एक अधिकारीले भने, ‘अचानक भुक्तानी दिने आदेश पो आयो ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com