अख्तियार अझै सशक्त रूपमा अगाडि बढोस्: राष्ट्रपति भण्डारी

काठमाडौँ, २९ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग अझ सशक्त रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गरेकी छन् । ‘भ्रष्टाचार र अख्तियारको दुरुपयोगविरुद्ध परेका उजुरीको छानबिन र अभियोजनमा आयोगले विगतमा झैं निष्पक्षता, तटस्थता र निर्भीकतालाई मूलमन्त्र मानी कार्य गर्नेछ’, राष्ट्रपति भण्डारीले बुधबार आयोगको ३०औं स्थापना दिवसका अवसरमा आयोजित समारोहमा भनिन्, ‘राज्यलाई सुशासन र समृद्धिको मार्गमा सफलतापूर्वक अघि बढ्न महत्वपूर्ण योगदान दिनेछ ।’

राष्ट्रपति भण्डारीले आयोगले स्थापनाकालदेखि निर्वाह गर्दै आएको भूमिकाले सार्वजनिक उत्तरदायित्व, सुशासन र समृद्धि तथा सेवा प्रवाहमा सकारात्मक प्रभाव पारेको धारणा व्यक्त गरिन् । राष्ट्रपतिले भ्रष्टाचार नियन्त्रण गरी राज्यलाई समृद्धिको दिशामा अघि बढाउने तथा सुशासन प्रवद्र्धनमा सहयोग पुर्‍याउने गरी आयोग स्थापना भएको उल्लेख गरिन् ।

उनले भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवद्र्धन तथा आर्थिक समृद्धिमार्फत राज्यको पहिचानलाई अन्तर्राष्ट्रिय क्षेत्र र समुदायसम्म पुर्‍याउने कार्यमा राजनीति, प्रशासन र नागरिक सबैको उत्तिकै र समान भूमिका रहने बताइन् । यस कार्यमा आयोगलाई सबैले सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायहरूलाई त्रासबाट मुक्त भएर काम गर्न आग्रह गरेका छन् । ‘धम्की, त्रासमुक्त भई निर्भीक र निष्पक्ष रूपमा काम गर्नुहोस् । सरकारका तर्फबाट कुनै हस्तक्षेप हुने छैन’, प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले असफल नहुने गरी मुद्दा दायर गर्न आयोगका पदाधिकारीलाई सुझावसमेत दिए । ‘फरक पर्ने गरी मुद्दा दायर गर्नु हुँदैन । निर्दोष मान्छेमाथि आरोप लाग्ने लगाउने गर्नु हुँदैन । तथ्य, प्रमाण पुगेपछि मात्रै मुद्दा चलाउनुपर्छ’, प्रधानमन्त्रीले भने, ‘कुनै पनि भ्रष्टाचारमा संलग्नलाई उन्मुक्ति पनि दिन हुँदैन ।’

प्रधानमन्त्रीले भ्रष्टाचारलाई ‘साझा शत्रु’को संज्ञा दिँदै राज्यले शून्य सहनशीलताको नीति अवलम्बन गरिएको स्पष्ट पारे । उनले भ्रष्टाचार गरी कारबाही गर्नुभन्दा भ्रष्टाचार नै हुन नदिनेतर्फ काम गर्नुपर्नेमा जोड दिए । यो समाचार अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com