सांसद बस्नेतद्वारा एकैदिन दुई सडक शिलान्यास

भक्तपुर, ८ चैत । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले मध्यपुर थिमी नगरपालिका वडा नं. ९ र ५ मा दुईवटा सडक एकैदिन शिलान्यास गर्नुभएको छ ।

शनिवार सांसद बस्नेतले शहरी विकास तथा भवन निर्माण विभागबाट विनियोजित रु ५० लाखको लागतमा मध्यपुर थिमी नगरपालिका वडा नं. ९, राधेराधेको आस्थामार्गमा ८ मिटर चौडा बाटो विस्तार र ढलान तथा शहरी विकास तथा भवन निर्माण विभागबाटै विनियोजित रु २५ लाखको लागतमा मध्यपुर नगरपालिका वडा नं. ५ राधेराधे एरियाकै गुहेश्वरी हनुमन्ते मार्गमा समेत १४ फिट चौडा बाटो विस्तार र ढलानको लागि एकै पटक सिलान्यास गर्नुभएको हो ।

आफुले निर्वाचनको समयमा जनता सामु गरेको प्रतिवद्धताहरु प्रायः पुरा भइसकेको उल्लेख गर्दै उहाँले अबका दुई वर्षमा भक्तपुरको विकास र समृद्धिको यात्रामा बोनसको रुपमा काम गरी जनताको अनुहारमा विकासप्रतिको चमक ल्याउने बताउनुभयो । जनताको चाहना र आवश्यकतालाई मध्यनजर गर्दै विकासका आयोजनाहरु अगाडी बढाइएको उल्लेख गर्दै उहाँले अबको दुई वर्ष मध्यपुर नगरपालिकाभित्रका योजनामा केन्द्रीत भएर अगाडी बढ्ने उक्त स्थानका जनतालाई प्रतिवद्धता जनाउनुभयो ।

सूर्यविनायक नगरपालिकाको तुलनामा केही कम विकास भएको भनि जनताबाट गुनासो आइरहेको गुनासोलाई ध्यानमा राख्दै सांसद बस्नेतले मध्यपुर नगरपालिकाभित्र अबको दुई वर्ष आफ्नो ध्यान केन्द्रीत रहने बताउनुभयो । मध्यपुरमा घना बस्ती भएका कारण ठूला ठूला सडकहरु निर्माण गर्न समस्या भएको उल्लेख गर्दै उहाँले समस्यालाई समाधान गर्दै जनताको सेवा र सुविधालाई ध्यानमा राखी काम गर्ने बताउनुभयो ।

विकासको नयाँ युगमा देश प्रवेश गरेको चर्चा गर्दै उहाँले भन्नुभयो, ‘सरकारले राम्रो काम गरेको छ, अब बाँकी दुई वर्ष यही सरकारलाई काम गर्न दिनु पर्छ, अहिलेको सरकार हटाएर प्रचण्ड वा माधव नेपाललाई प्रधानमन्त्री बनाएर देशको आमूल विकास हुन्छ भन्ने विश्वास मलाई मात्रै होईन जनतालाई पनि छैन ।’

विगतका सरकार र प्रधानमन्त्रीसँग अहिलेको सरकार र प्रधानमन्त्रीसंग जनताले तुलना गरेर हर्नु पर्ने भनाइ राख्दै उहाँले अहिलेका सरकारको योजना, लक्ष्य, विकास र समृद्धिको अवधारणा अन्तर्राष्ट्रिय भूमिका, समृद्धि, शुसासन, भ्रष्टाचार नियन्त्रणमा यो सरकार अगाडि रहेको बताउनुभयो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com