‘राजनीतिक खिचातानीले मुलुक गलत दिशातर्फ’

काठमाडौँ, १३ चैत । प्रमुख राजनीतिक दलभित्रको आन्तरिक खिचातानीले मुलुक गलत दिशातर्फ उन्मुख भएको एक अध्ययनले देखाएको छ । सेयर कास्ट इनिसिएटिभ नेपालले गरेको राष्ट्रिय मत सर्वेक्षणमा सहभागीमध्ये ४४ दशमलब तीन प्रतिशतले मुलुक गलत दिशातर्फ उन्मुख भइरहेको र यसको कारण राजनीतिक खिचातानी भएको बताएका छन् ।

सर्वेक्षणमा सातै प्रदेश, विभिन्न उमेर समूह र जातजातिसहित पाँच हजार ८२ जना सहभागी थिए । सर्वेक्षणमा सहभागीमध्ये २२ दशमलब पाँच प्रतिशतले मुलुक सही वा गलत कुनै पनि दिशामा अघि नबढेको बताएका छन् । त्यस्तै २१ दशमलब ९ प्रतिशतले मुलुक सही दिशामा अघि बढिरहेको मत जाहेर गरेका छन् । ११ दशमलब तीन प्रतिशतले भने यसबारेमा आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।

कर्णाली प्रदेशबाट मत सर्वेक्षणमा सहभागीमध्ये ५३ दशमलव ६ प्रतिशतले मुलुक गलत दिशातर्फ गइरहेको बताएका छन् । लुम्बिनी प्रदेशबाट सहभागीमध्ये २७ दशमलब ४ प्रतिशतले मुलुक सही दिशातर्फ गइरहेको मत जाहेर गरेका छन् । देश गलत दिशातर्फ गइरहेको छ भन्नेमा पहाडी ब्राह्मणहरूको मत सबैभन्दा बढी छ । ५५ प्रतिशत पहाडी ब्राह्मणले देश गलत दिशातर्फ गएको दाबी गरेका छन् । सर्वेक्षणमा सहभागी तराई/मधेसका जनजातिमध्ये ३० प्रतिशतले मात्र मुलुक गलत दिशामा गइरहेको बताएका छन् । सर्वेक्षणमा उच्च शिक्षा हासिल गरिरहेकालाई पनि सहभागी गराइएको थियो ।

यो समूहका सहभागीमध्ये ६१ दशमलब १ प्रतिशतले मुलुक गलत दिशातर्फ गएको मत जाहेर गरेका छन् भने १८ दशमलब १ प्रतिशतले मुलुक सकारात्मक दिशातर्फ उन्मुख भइरहेको दाबी गरेका छन् । उमेर समूहका हिसाबले ४५ देखि ५९ वर्षसम्मका सहभागीमध्ये ४६ प्रतिशतले मुलुक गलत दिशातर्फ र २१ दशमलब २ प्रतिशतले सकारात्मक दिशातर्फ गइरहेको बताएका छन् ।

देश गलत दिशातर्फ जानुको कारणबारे गरिएको सर्वेक्षणमा सहभागीमध्ये ४९ दशमलब ३ प्रतिशतले राजनीतिक दलभित्रको खिचातानीलाई मुख्य कारण भएको उल्लेख गरेका छन् । त्यस्तै राजनीतिक अस्थिरतालाई कारण मान्ने सहभागीको संख्या ३६ दशमलब ८ प्रतिशत छ । कमजोर नेतृत्वका कारण मुलुक गलत दिशातर्फ उन्मुख भइरहेको भन्नेचाहिँ २७ दशमलव ४ प्रतिशत छन् ।

त्यस्तै भ्रष्टाचारलाई कारण मान्ने २३ दशमलब ४ प्रतिशत, गलत नीतिलाई कारक मान्ने २० दशमलब ६ प्रतिशत, सरकारको कमजोर कार्यक्षमतालाई कारक मान्ने १३ दशमलब एक प्रतिशत छन् । सहभागीमध्ये १२ दशमलब ७ प्रतिशतले नेतृत्वबाट अपेक्षाअनुसारको काम नहुँदा मुलुक गलत दिशातर्फ उन्मुख भएको मत जाहेर गरेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com