राष्ट्रियसभा उपनिर्वाचनमा खिमलाल विजयी, बादल पराजित

काठमाडौँ, ६ जेठ । राष्ट्रिय सभाको उपनिर्वाचनमा डा. खिमलाल देवकोटा विजयी हुनुभएको छ ।

आज भएको निर्वाचनमा कुल मतभारमा देवकोटाले ५०८८ मत ल्याई विजयी हुनुभएको हो । त्यस्तै नेकपा एमालेका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले पराजय बेहोर्नुभएको छ । मतभार अनुसार बादलले ४०१४ मत ल्याई बादल पराजित हुनुभएको हो । स्थानीय तहमा देवकोटाले १२८ मत पाउँदा बादलले १०३ मत मात्रै पाउनुभयो । २ मत नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले पाउनुभयो । खिमलालले पाएको १२८ मतको मतभार २३०४ हुन्छ । बादलले पाएको मतभार १८५४ हुन्छ । त्यस्तै, प्रदेशसभामा बादलले ४५ मत पाउँदा खिमलालले ५८ तथा तामाङले २ मत पाउनुभयो । बादलले पाएको ४५ मतको मतभार २१६० हुन्छ भने खिमलालले पाएको ५८ मतको मतभार २७८४ हुन्छ ।

उपनिर्वाचनमा प्रदेश सभा सदस्य ११० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी जम्मा ३४८ जना मतदाता रहेकोमा प्रदेश सभा सदस्यतर्फ १०५ जना र स्थानीय तहतर्फ २३३ जना गरी जम्मा ३३८ जनाले मतदान गरेका थिए । यसमध्ये कोरोना भाइरस संक्रमित मतदाताको संख्या २५ थियो । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तह सदस्यतर्फको मतभार १८ रहेको छ । मतदातामध्ये प्रदेशसभा सदस्य पशुपति चौलागाईंको भने केही दिनअघि निधन भएको थियो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com