बाँदरमुढे बम विस्फोट : जो बसको छतमा यात्रुसँग भाडा उठाउँदै थिए …

काठमाडौँ, २५ जेठ । माडीका रामु क्षेत्री १७ वर्षका मात्रै थिए। घरसँग साटेर ना.१ख ३२४५ नम्बरको बस चलाउँथे । आफ्नो बसमा उनी पैसा उठाउने काम गर्थे । २०६२ जेठ २३ गते बगईबाट हिँडेको बस तीन घण्टापछि बिहान पौने ८ बजे बाँदरमुढे खोलामा आइपुग्यो । त्यहाँ आइपुग्दा १ सय २० जना यात्रु थिए। भित्र खुट्टा टेक्ने ठाउँ नभएपछि यात्रु छतमा पनि थिए ।

बसधनी क्षेत्री अरू बेला पहिला भित्रका यात्रुसँग भाडा उठाउँथे। बसन्तपुर बजार पुगेपछि मात्रै छतमा भाडा उठाउने चलन थियो । तर, भित्र भीड भएपछि उनी पहिला छतमा रहेका यात्रुसँग पैसा उठाउँदै थिए । त्यही बेला गाडी एक्कासि उड्यो । उनले बसको तल हेरे। झ्यालबाट फुटबलजस्तो उछिट्टिएको देखे । उनलाई भित्रबाट कसैले बल फाले होलान् भन्ने लाग्यो। बस भुइँमा नबजारिँदै उनी छतबाट बालुवामा हाम फाले । त्यसपछि मात्रै उनलाई थाहा भयो कि त्यसरी उछिट्टिएको कुनै बल नभएर बसकै यात्रु थिए ।

भुइँमा यत्रतत्र छरिएका शव देखेर, रोइकराई गरेको सुनेर उनलाई सपनाजस्तै लाग्यो । ‘मान्छेहरू लथालिंग देखेर सपना हो कि विपनाझै भयो’, उनी भन्छन्, ‘सपनाजस्तो लागेर चारपटक आफूले आफैंलाई चिमोटेपछि पो बम पड्किएको भन्ने भयो ।’

उनी छतमा भएकै कारण बाँचे । छतमा भएका सबै यात्रु बाँच्न सफल भए । दोस्रो बम पनि पड्किन्छ भनेर भागे। बसछेउ एक महिलाको शरीर क्षतविक्षत अवस्थामा थियो । जिउँदै रहेकी ती महिला आफ्नो पेटबाट निस्केका भित्री अंग हेर्दै थिइन् । बसको अघिल्लो भागमा बसेकी हुनाले उनकी १६ वर्षकी छोरी सकुसल थिइन् ।

तत्कालीन विद्रोही पक्ष माओवादीले चितवनको माडीस्थित बाँदरमुढे खोलामा २०६२ जेठ २३ गते बम विस्फोट गरेको ठाउँ देखाउँदै बसका चालक विक्रम महतो र सवारीधनी रामु क्षेत्री । ‘विस्फोट भएपछि त्यही बहिनी र म मात्रै थियांै। आमालाई काखमा राखेर बचाइदिनुस् भन्दै थिइन्’, उनी त्यस बेलाको घटना स्मरण गर्छन्, ‘पानी–पानी भनेपछि खोलाको पानी लगेर खुवाएँ । त्यत्तिकैमा छोरीको काखमा प्राण गयो ।’

त्यसदिन उनकै बसको पहिलो पालो थियो । बिहान ५ बजे बगईबाट हिँड्ने बेला १०–१२ जनाको संख्यामा नेपाली सैनिक वनकट्टा पोस्टसम्म जान चढेका थिए । त्यसअघि नै माओवादी कार्यकर्ताले सेनालाई बसमा नचढाउन भनेका थिए ।

संकटकालको समयमा सवारीधनीले सेनालाई रोक लगाउन सकेनन् । नचढाउँदा पनि यातायात व्यवसायीले सेनाबाट सजाय भोग्नुपथ्र्यो।  ‘माओवादीले पहिल्यै नचढाउनु भनेका भन्थे । नचढाए आर्मीले समात्ने डर थियो’, उनी भन्छन्, ‘हामी दुवै पक्षबाट चेपुवामा थियौं ।’  नभन्दै तत्कालीन विद्रोही पक्ष माओवादीले २०६२ जेठ २३ गते माडीको बाँदरमुढे खोलामा बम विस्फोट गराएको थियो । माओवादी कार्यकर्ताले बसमा चढेका सेनालाई लक्ष्य गरी बसका यात्रुलाई विद्युतीय धरापमा पारेका थिए । तत्कालीन शाही नेपाली सेनाका जवानसहित ३९ जना मारिए। छतमा बसेका सबै सकुशल भए । भित्र बसेर बाँचेका यात्रु कोही अपांगता अवस्थामा छन्। कतिपय काम गरेर खान नसक्ने अवस्थाका छन् ।

घटना भएको १० दिनसम्म पनि स्थानीयवासी खोलामा जान डराएको उनीहरू बताउँछन् ।  बसका चालक र साहूको विषयमा अहिलेसम्म कहीँ कुरा भएको सुनिँदैन । उनीहरूले क्षतिपूर्ति र राहत अहिलेसम्म पाएका छैनन्। उनीहरूको नाम पीडितको सूचीमा पनि छैन । अहिलेसम्म कसैले सम्झिएको छैन उनीहरूलाई। अहिले दुवै जना परिवारसँग रमाइरहेका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com