नेकपा एमाले स्थायी कमिटीमा ८ जना नेता थप
काठमाडौं, १६ असार । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी भंग गरिएको छ ।
आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले १० औं महाधिवेशन आयोजक समितिलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
अब एमालेका कामकारवाही केन्द्रीय कमिटीकै नामबाट सञ्चालन हुने बैठकपछि पार्टी प्रवक्ता ज्ञवालीले जानकारी दिए । आज बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले एमालेका चार र माओवादीबाट एमाले प्रवेश गर्नुभएका चार नेतालाई स्थायी कमिटीमा थप गरेको छ । रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल, रघुजी पन्त र माओवादीबाट एमालेमा प्रवेश गरेका रामबहादुर थापा (बादल), टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा स्थायी कमिटी सदस्यमा थपिएका छन । महाधिवेशन आयोजक कमिटी खारेजसँगै माधव नेपालसहित ११ जना नेतामाथि यसअघि गरिएको कारवाहीसमेत निष्क्रिय भएको बताइको छ ।
बैठकले कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेको कामको उच्च प्रशंसा गरेको पनि ज्ञवालीले बताए । त्यस्तै सबै नागरिकलाई खोप दिलाउन सरकारलाई अनुरोध पनि गरेको छ । त्यस्तै एमालेको बैठकले बाढी, पहिरोजस्ता विपदमा उद्दार र राहतमा सरकारले खेलेको भूमिकाको उच्च प्रशंसा गरेको ज्ञवालीले बताए ।
त्यस्तै वरिष्ठ नेता झलनाथ खनालको उपचारको जिम्मा पनि पार्टीले लिने निर्णय भएको छ । अब केन्द्रीय कमिटीको बैठक असार १८ गते बस्नेछ ।