माओवादीले कारबाही गरेका २ पूर्वसांसद सर्वोच्चमा

काठमाडौँ, १४ साउन । नेपाल कम्युनिष्ट पार्टी नेकपा खारेजपछि नेकपा एमालेमा प्रवेश गरेको भन्दै नेकपा माओवादी केन्द्रबाट कारबाहीमा परेका लुम्बिनी प्रदेशका २ जना पूर्वसांसद सर्वोच्च अदालत पुगेका छन् ।

माओवादीबाट उम्मेदवार भई सांसद भएका दधिराम न्यौपाने र दिनेश पन्थीलाई माओवादीले आफ्नो दल त्याग गरेको भन्दै कारबाही गरेको थियो । आफूहरूलाई संविधान र माओवादीको संसदीय दलको विधानविपरीत हटाइएको दाबीसहित उनीहरू साउन ७ मा सर्वोच्च अदालत पुगेका थिए । आफूहरू गत चुनावमा माओवादी र एमालेको संयुक्त घोषणा पत्रका आधारमा निर्वाचन लडेको जिकीरसमेत उनीहरूले गरेका छन् ।

उनीहरू माओवादीमा सक्रिय नभई एमालेतर्फ सक्रिय भएका थिए । त्यसपछि माओवादीको पत्रका आधारमा सभामुख पूर्णबहादुर घर्तीले उनीहरूलाई प्रदेश सभा सदस्य पदबाट पदमुक्त गरिदिएका थिए । न्यौपाने रूपन्देही क्षेत्र नम्बर १ को (ख) बाट र पन्थी गुल्मी क्षेत्र नम्बर १ को (ख)बाट निर्वाचित भएका थिए ।

उनीहरूले माओवादी केन्द्र, लुम्बिनी प्रदेश प्रदेश सभा सचिवालय, लुम्बिनी प्रदेशका सभामुख र निर्वाचन आयोगलाई विपक्षी बनाई सर्वोच्चमा निवेदन दिएका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com