कांग्रेस कार्यकर्तालाई घरैमा खोप पुर्‍याएको आरोपमा विराटनगरका मेयर पराजुलीविरूद्ध प्रदर्शन

विराटनगर, १४ साउन । विराटनगर महानगरका प्रमुख भीम पराजुलीले मध्यरातमा कार्यकर्तालाई घरैमा लगेर खोप लगाइदिएको विरोधमा विराटनगरमा बिहीबार प्रदर्शन भएको छ ।

कोरोनाविरूद्धको खोप हरेक नागरिकको नैसर्गिक हक भएको बताउँदै सर्वसाधारणले महानगर कार्यालय परिसरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले मेयर भीम पराजुलीले महानगरबासीविरुद्ध विभेदपूर्ण काम गरेको भन्दै विरोध जनाएका छन् । बुधबार राति कोरोनाविरूद्धको खोप बोकेर आफ्ना कार्यकर्ताको घर पुगेका विराटनगर महानगरपालिकाका मेयर स्थानीयबाट लखेटिएका थिए । विराटनगर-५ मा आफ्ना समर्थक र कांग्रेस कार्याकर्तालाई खोप लगाउँदै गरेको थाहा पाएपछि स्थानीयले मेयर पराजुलीलाई लखेटेका थिए ।

मेयर पराजुली बुधबार राति करिब ९ बजे खोपसहित विराटनगर-५ निवासी कांग्रेस बुथ समितिका सभापति विमलराज भण्डारीको घरमा पुगेर खोप लगाउन थालेका थिए । खोपको लागि कांग्रेसका पनि आफूनिकट कार्यकर्तालाई मात्र खबर गरिएको थियो । गुपचुप रुपमा निकटलाई मात्र खोप दिएको सूचनापछि सो क्षेत्रको ठूलो भिड जम्मा भएको थियो । आक्रोशित स्थानीयले मेयर पराजुलीसँग आएका एक व्यक्तिलाई हातपात गरे भने पराजुलीलाई लखेटेका थिए ।

स्थानीयको विरोधपछि मेयर पराजुली दौडँदै कांग्रेस नगर उपसभापति प्रवीण जोशीको गाडी चढेर भागेको स्थानीयले बताएका छन् । उनीसँग काङ्ग्रेस नगरका कार्यबाहक सभापति अरुण न्यौपाने पनि थिए । भन्सार एजेन्टसमेत रहेका जोशीको गाडीमा उनी भाग्दा स्थानीयले ढुङ्गा प्रहार गरेका थिए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com