कोरोनाबाट एकै परिवारका तीनजनाको मृत्यु, गाउँ ‘सिल’

उदयपुर, १७ साउन । उदयपुरको त्रियुगा नगरपालिका–२, खैजनपुरगाउँमा कोरोना संक्रमणबाट एकै परिवारको तीनजनाको मृत्यु भएको छ ।

वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोरोना संक्रमणबाट पन्ध्र दिनअघि ४३ वर्षीय रमण पोखरेल, सात दिनअघि ३८ वर्षीय हेमराज पोखेरल र शुक्रबार राति ३६ वर्षीय देवी पोखरेलको मृत्यु भएको हो । संक्रमण तीव्र बनेपछि शनिबार रातिदेखि गाउँ ‘सिल’ गरिएको छ । पन्ध्र दिनदेखि खैजनपुरका गाउँलेमा रुघाखोकी र ज्वरो आउने क्रम सुरु भएर बढ्दै गएसँगै पाँच दर्जनभन्दा बढी गाउँले संक्रमित भएपछि शनिबार रातिदेखि यही साउन २४ गतेसम्मका लागि पूरै गाउँ सिल गरिएको वडाध्यक्ष खत्रीले बताए ।

स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार जिल्लामा १० दिन अघिसम्म पनि कोरोना संक्रमण घट्दो दरमा थियो । एक हप्तायता पुनः संक्रमण बढ्न थालेको उनले बताए । खैजनपुरमा संक्रमण पुनः बढ्न थालेका कारण आज बिहानदेखि स्वास्थ्यकर्मीको टोली परिचालन गरेर सबै गाउँलेको पीसीआर र एन्टिजेन परीक्षण सुरु गर्न लागिएको स्वास्थ्य कार्यलयका प्रमुख सुवेदीले बताए ।

संक्रमण फैलन थालेपछि खैजनपुरका दक्षिण–पूर्वको भूभाग जोगीदहसम्म र पश्चिम भुल्केसम्म र उत्तर त्रियुगा नदी किनारसम्मको क्षेत्रमा सिल गरिएको छ । गाउँ सिल गरेसँगै बिहान ७ देखि ९ बजेसम्म मात्र दैनिक उपभोग्य वस्तुका सामान्य पसल खोल्न अनुमति प्रदान गरिएको र सो समयबाहेकका समय पूर्ण रूपमा ‘लकडाउन’ गरिएको वडाध्यक्ष खत्रीले जानकारी दिए । रासस

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com