प्रधानमन्त्रीलाई नेता भट्टराईको चेतावनी: हेक्का रहोस्, तपाईंको समय अब सुरु भयो

काठमाडौँ, १९ साउन । नेकपा एमालेका सांसद योगेश भट्टराईले कोरोनाविरुद्धको खोप अभियानको रफ्तार सुस्त भएकोमा असन्तुष्टि जनाउँदै सरकारको ध्यानाकर्षण गराएका छन् ।

आज प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले ‘खोप, खोप, खोप’ भनेर आफ्ना तीनवटा प्राथमिकतामा खोप राखे पनि त्यसअनुसार काम हुन नसकेको बताए । उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीजी १ कोरोनाको रोकथाम र नियन्त्रणका निम्ति तपाईंलाई समयको छुट छैन, शङ्काको लाभ छैन र तपाईंको समय अब सुरु भएको छ । हेक्का रहोस् ।’

ताप्लेजुङको वरिष्ठ अहेव लक्ष्मी वनेमले ९ घण्टामा ९४० जनालाई खोप लगाएको भन्ने समाचार उद्धृत गर्दै उनले भने, ‘यो धेरै सुखद् समाचार हो, तर तथ्याङ्क यस्तो मात्र छैन ।’ ६० प्रतिशतभन्दा बढी नागरिकलाई खोप लगाउनुपर्नेमा आजसम्म ५ प्रतिशतले पूर्ण खोप पाएको, १४ प्रतिशतले पहिलो मात्राको खोप पाएको र देशका १६ हजार खोप केन्द्रमध्ये तीन हजार खोप केन्द्र मात्रै परिचालित रहेको उनले बताए । १० औँ हजार स्वास्थ्यकर्मी खोप लगाउने कामबाट विमुख रहेको भन्दै उनले यस्तो अवस्थामा असोज महिनाभित्र सबै खोप लगाउँछु भन्ने मन्त्रीको घोषणा र ‘खोप, खोप, खोप’ भन्ने प्रधानमन्त्रीको घोषणा लागु हुने सम्भावना नदेखिएको बताए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com