कोरोना संक्रमितले भरिए झापाका अस्पताल

झापा, २० साउन । विज्ञहरुले कोरोनाको तेस्रो लहर छिट्टै आउने चेतावनी दिइरहेका बेला झापाका कोभिड अस्पतालहरु संक्रमितले भरिभराउ भएका छन् । मेची प्रादेशिक अस्पताल भद्रपुरमा ७५ शय्याको कोभिड उपचार केन्द्र रहेकामा ६० जना संक्रमितको उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. टंक बाराकोटीले बताए ।

अस्पतालको ६० वटा शय्यामा मात्र अक्सिजनको सुविधा उपलब्ध छ । ती सबै शय्या भरिएका छन् । अक्सिजन ‘सपोर्ट’ चाहिने नयाँ बिरामीलाई अन्य अस्पतालमा पठाउन थालिएको छ । पाँचवटा आईसीयूकक्षमध्ये तीनवटा कोभिडका बिरामीको उपचारका लागि छुट्ट्याइएकामा सबै शय्या भरिएको उनले जानकारी दिए । झापामा सबैभन्दा बढी १०० शय्या कोभिड संक्रमितको उपचारका लागि छुट्ट्याएको बिर्तामोडको बीएन्डसी अस्पतालमा ७४ जना बिरामीको उपचार भइरहेको छ ।

अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीका अनुसार कोभिडका लागि अस्पतालले ३२ शय्याको आईसीयू व्यवस्था गरेकामा सबै शय्या बिरामीले भरिएका छन् । “एक सातायता कोभिडका बिरामीको चाप ह्वात्तै बढेको छ,” गिरीले भने, “बिरामीको चाप बढ्दै गयो भने अरू शय्या थप्न तयार छौँ । बिरामीले उपचार नपाई फर्किने अवस्था सिर्जना हुन दिँदैनौँ ।” अस्पतालमा दैनिक २०० सिलिन्डर अक्सिजन खपत भइरहेको जनाउँदै उनले ५० सिलिन्डर अक्सिजन अस्पताल आफँैले दैनिक उत्पादन गरिरहेको बताए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com