काठमाडौँ उपत्यकामा निषेधाज्ञालाई निरन्तरता

काठमाडौँ, ८ भदौ । काठमाडौँ उपत्यकाको निषेधाज्ञा ‘पर्ख र हेर’को अवस्थामा लम्बाइएको छ ।

आज बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यही भदौ १६ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले पुरानै निषेधाज्ञालाई निरन्तरता दिइएको बताउदै उनले भने, ‘बेलुका ८ बजेपछि अत्यावश्यकबाहेकका निजी तथा सार्वजनिक सवारीसाधन चल्न पाउने छैनन् । सबै किसिमका पसलहरु बेलुका ८ बजेअघि नै बन्द गर्नुपर्नेछ । पछिल्लो साताको संक्रमणदरको समीक्षा गर्दा स्थिर देखिएको छ ।’

उनका अनुसार यदि, बीचमा संक्रमण दर बढे आकस्मिक बैठक बसेर ‘मोडालिटी’ फेरबदल गर्न सकिनेछ । “निषेधाज्ञालाई कडा बनाउने स्थिति आइसकेको छैन । तर, स्वास्थ्य मापदण्ड, भौतिक दूरी पालनामा भने अनिवार्य ध्यान दिन जरुरी छ । संक्रमणको उच्च जोखिम कायमै छ । आम उपत्यकावासीको सहजीकरणलाई ध्यानमा राख्दै व्यवस्थापनतिर लागेका छौँ ।”

पछिल्लो साता थप गरिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदै छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com