पूर्वी रुकुममा एमाले विभाजन: साबिक कमिटीका ५ जनाले नेकपा एस् रोज्दा माओवादीका ६ जना एमालेमा

पूर्वी रुकुम, २८ भदौ । नेकपा एमाले पूर्वीरुकुमले जिल्ला कमिटीलाई २०७५ जेठ २ को पूर्ववत अवस्थामा गाडि बढाएको छ । आइतबार बसेको जिल्ला कमिटी बैठकले साबिक जिल्ला कमिटीका ५ जना सदस्यमात्र माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को पक्षमा लागेको भए पनि नेकपा एकताका समयमा माओवादीबाट आएका ६ जना एमालेमै रहेकाले जिल्लामा पार्टीलाई विभाजनको क्षति नभएको एमाले जिल्ला सचिव लिलामणि गौतमले जानकारी दिनुभयो ।

पार्टी एकताका लागि गठित कार्यदलसँगको सहमतिअनुसार २०७५ जेठ २ को अवस्थामा फर्किदा एमाले साबिक जिल्ला कमिटीका सचिव भिउमान घर्ती मगर, सदस्यहरु टिकाराम उपाध्याय, मोहन खत्री, वसन्त गौतम र केशव शाह मात्रै नेकपा एसमा लाग्नुभएको छ ।

एमाले पूर्वी रुकुमका अनुसार सर्बोच्च अदालतले २०७७ फागुनमा माओवादी केन्द्र र एमाले अलग-अलग हुँने फैसला गरेपछि माओवादी केन्द्रबाट समावेश भएका ६ जना जिल्ला कमिटी सदस्यहरु एमालेमै रहेका छन् । माओवादीका ६ जना तत्कालीन जिल्ला सदस्यहरुलाई नेकपा एमालेले विभिन्न जिम्मेवारी समेत दिईसकेको छ, जसअनुसार निर्माण बुढालाई प्रदेश कमिटी सचिवालय सदस्य, रुजिधन घर्ती मगरलाई जिल्ला कमिटीका उपाध्यक्ष, तेजेन्द्र बुढा मगरलाई उपसचिव बमबहादुर बुढा मगरलाई जिल्ला कमिटी सदस्य तथा राष्ट्रिय युबा संघ रुकुम पूर्वको अध्यक्ष, सन्तोष खड्का र अर्जुन बाइकलाई जिल्ला कमिटीका महत्त्वपूर्ण जिम्मेवारी दिईएको छ।

जिल्ला अध्यक्ष टोपबहादुर ओलीको अध्यक्षता र एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष खेममान खड्काको प्रमुख आतिथ्यतामा बसेको बैठकमा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्यद्वय नन्दलाल शर्मा, निर्माण बुढा, प्रदेश कमिटी सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य आशा स्वर्णकार लगायतको आतिथ्यता रहेको थियो ।

बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनुभएका एमाले केन्द्रीय सदस्य खेममान खड्काले माकुने समुहको विभाजनले आधारभूत तहमा पार्टीलाई खासै प्रभाव नपर्ने र अरुको उस्कावटमा लागेर बनाएको समाजवादी पार्टी चाडैं नै पानीको फोका सरह हराएर जाने दाबि गर्नुभएको थियो । एमालेको कथित विभाजन सर्पले काँचुली फेरे जस्तै भन्दै खड्काले बाटो बिराएर समाजवादी रोजेका एमाले नेता तथा कार्यकर्ताहरुलाई मुलधारमा फर्कन अनुरोध गर्दै एमाले फुटाउन अहम भुमिका खेल्ने सभामुखलाई सभामुखको कुर्सीमा बस्ने अधिकार र नैतिकता नभएको समेत आरोप लगाउनुभयो ।

बैठकले असोज १५ गतेसम्म जिल्लाभर पार्टी सदस्यता नविकरण सम्पन्न गर्ने, असोज ५ सम्म पालिका स्तरका सबै कमिटीहरुको बैठक सम्पन्न गर्ने, असोज १०भित्र वडा कमिटीहरुको बैठक सम्पन्न गर्ने, निर्धारित मितिमा वडा र पालिका स्तरका सबै अधिवेशनहरु सम्पन्न गर्नका लागि व्यापक तैयारी गर्ने, जिल्ला पार्टी कार्यालयको दीगो ब्यवस्थापन गर्ने, सचिवालयको गठन गर्ने, मौजुदा जिल्ला कमिटीलाई बिस्तार गरि १ सय ५१ सदस्यको संख्या कायम गर्ने, जनसङ्गठनहरुको बैठक तथा भेलाको आयोजना गर्ने, बाटो बिराएकाहरुलाई मुल धारमा फर्कन आव्हान गर्ने, असोज २८ गतेको कार्यकर्ता भेलालाई भब्यतापुर्बक सम्पन्न गर्ने लगायत अन्य बिबिध निर्णयहरु पारित गरेको जिल्ला सचिब लिलामणि गौतमले जानकारी दिनुभयो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com