सुदूरपश्चिममा हाम्रो जीवनकालकै सबैभन्दा ठूलो विपद् आइलाग्यो: मन्त्री जोशी
काठमाडौँ, ३ कार्तिक । बुधवार बिहानसम्म आठ जनाको ज्यान गएको पुष्टि भइसकेको तथा कैयन् बेपत्ता भएको गृह मन्त्रालयका प्रवक्ताले जनाएका छन्।
धेरै क्षति सुदूरपश्चिममा भएको बताइएको छ भने त्यहाँ थप मानिसको ज्यान गएको प्रदेशकी आन्तरिक मामिलामन्त्रीले बताएकी छन्। कतिपय ठाउँमा अझै ठूलो वर्षा भइरहेको र ठाउँठाउँका बस्तीहरू डुबानमा परेको बताइएको छ। पछिल्लो अवस्थाबारे जानकारी दिँदै गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने, “मङ्गलवार साँझसम्म हामीलाई ६ जनाको ज्यान गएको विवरण आएका थिए। राति इलाम जिल्लामा पनि थप २ जनाको ज्यान गएको खबर आएको छ। धेरै ठाउँमा डुबान भएका खबर आएका छन्। कञ्चनपुर अनि मोरङमा डुबान भएका छन्। सुरक्षा टोली उद्धारमा खटिएका छन्। क्षतिका विवरणहरू आइरहेका छन्।”
- वर्षाका कारण सुदूरपश्चिममा ठूलो क्षति, २२ जना पहिरोमा हराइरहेको विवरण
- पानी पर्ने क्रम जारी, केही नदीमा जलसतह खतराको तहभन्दा माथि
- नेपालमा कहाँकहाँ वर्षा र हिमपात हुन सक्छ, मौसम कहिले सुध्रिएला
सुदूरपश्चिम अस्तव्यस्त
सबैभन्दा धेरै क्षति सुदूरपश्चिम प्रदेशमा परेको बताइएको छ। बुधवार बिहान बीबीसीसँग कुरा गर्दै उक्त प्रदेशकी आन्तरिक मामिला एवं कानुनमन्त्री पूर्णा जोशीले “हाम्रा जीवनकालकै सबैभन्दा ठूलो विपद् सुदूरपश्चिममा” आइलागेको बताइन्।
“सुदूरपश्चिम अहिले अस्तव्यस्त छ। यातायात र सञ्चार सम्पर्क धेरै ठाउँमा विच्छेद भएको अवस्था छ। हामी क्षति विवरण सङ्कलन र मानवीय उद्धारमा केन्द्रित भएका छौँ,” उनले भनिन्। बझाङको थलहरामा पहिरोका कारण अझै २३ जना मानिस हराइरहेको उनले बताइन्। साथै डोटीमा ९ जनाको ज्यान गएको विवरण आफूले पाएको उनले भनिन्।
बैतडीको ढुङ्गाडमा नदीले एउटा गाउँनै जोखिममा पारेको र करिब ६५ जना मानिस उद्धारको पर्खाइमा रहेको पनि उनले बताइन्। “कञ्चनपुरको भाइरल रोड भनेर चिनिएको ठाउँमा धेरै डुबान भएको छ। त्यहाँको बस्ती हटाउन पहल भइरहेको छ,” जोशीले बताइन्। प्रतिकूल मौसमले उद्धार तथा राहतमा असर परिरहेको बताइएको छ। उनका अनुसार नेपाली सेनाको हेलिकप्टरहरू प्रयोग गरेर खासगरी बझाङको थलहरा अनि बैतडीको ढुङ्गाडमा उद्धारकार्य गर्ने प्रयास बुधवार पनि जारी राखिनेछ। मानवीय क्षति बाहेक यातायातका पूर्वाधारहरू अनि कृषिमा अत्यन्त धेरै नोक्सानी पुगेको उनले बताएकी छन्। “यातायात पूर्ण अवरुद्ध भएका छन्। विशेषगरी भिमदत्त राजमार्ग अनि बझाङ, बैतडी, अछाम, बाजुरा जाने बाटाहरू अवरुद्ध छन्।” “पाकेको धान खेतमै कुहिने अवस्था आएको छ।” बीबीसी