आज नेपाल संवत् ११४२, नेवार समुदायमा म्ह: पूजा मनाइँदै

काठमाडौँ, १९ कार्तिक । नेपाल संवत् ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

हरेक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने यस संवतलाई अहिले नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरिब नागरिकको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गराउनुभएको थियो । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतकाे मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयले जनाएको छ ।

२००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको हो । नेपाल संवतलाई नयाँ वर्षका रुपमा काठमाण्डौ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखालगायत नेवार समुदायको बाहुल्यता रहेका ठाउँमा विशेषरुपमा मनाउने गरिन्छ ।

यसैबीच, आजैको दिन नेवार समुदायमा  म्हः (आत्म) पूजा समेत गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष डा रामचन्द्र गौतम बताउनुहुन्छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com