सूर्यविनायक नगरपालिकाको वार्षिक प्रगति प्रतिवेदनको समिक्षा गोष्ठी संपन्न

भक्तपुर, १ मंसिर । सूर्यविनायक नगरपालिकाले आयोजना गरेको नगरपालिकाका आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रगति प्रतिवेदनको समिक्षा गोष्ठी संपन्न भएको छ ।

उक्त नगरपालिकाको वार्षिक प्रगति प्रतिवेदनको समिक्षा गोष्ठी कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले कुनै पनि आयोजनामा स्थानीय तहका जनप्रतिनिधिले समस्या समाधान गर्नुपर्ने कुराहरुमा सांसदले नै समस्या समाधान गर्नुपर्छ भन्ने प्रकारको सोचको अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेता बस्नेतले आफ्नो स्थानीय तहमा विकास निर्माणका आयोजनाहरु सञ्चालन गर्दा आइपर्ने साना तथा ठूला समस्या समाधानको लागि जनप्रतिनिधिले नेतृत्वदायी भूमिका निर्वाह गरी जनमूखी तरिकाले अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सीयोले झिक्नुपर्ने काँडा बञ्चरोले झिक्न सकिँदैन । सीयोले काँडा झिक्ने ठाउँमा बञ्चराले झिक्नुपर्छ भन्ने जस्तो भयो । त्यो भनेको के हो भने, यहाँका वडाहरुले समन्वय सिमाङ्कनलगायतका सवै कुराहरुमा गर्नुपर्नेमा त्यो चाँही माननीयले नै गर्नुपर्छ, वडाहरुले कहाँ छुने भन्ने जस्तो गरियो । यो कुराले कति गंभिर रहेको छ ? यो कुराले वडाध्यक्षहरुलाई छुन्छ कि छुँदैन ? तपाईहरुको कार्यक्षेत्रको कुरा हो कि हैन ? हनुमन्ते करिडोर निर्माणको समस्या वडाध्यक्षहरुले बसेर मिलाउने कुरा हो । सांसदहरुले आएर त तपाईहरुलाई सहयोग गर्ने हो नि । त्यसैले गर्दा नगरपालिकाले निर्णय गरी जतिसक्दो छिटो हनुमन्ते करिडोर बनाउनुस् । सानो सानो सिमाङ्कनले काममा अवरोध आएको छ, कतिपय ठाउँहरुमा मुद्धा मामिलाले काम रोकिएको छ । जसले गर्दा विकासमा अवरोध आएको छ । त्यसैले सम्पूर्ण वडाध्यक्ष तथा जनप्रतिनिधिहरुले यसको नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ । जनप्रनिधिले बढी पहल गरेको ठाउँमा बढी कामको प्रगति भएको छ । जुन वडाका जनप्रतिनिधिले पहल कम गर्नुभएको छ, त्यहाँ कम काम भएको छ । जसले गर्दा विकासमा राजनीति भयो भनिएको छ ।’

करिडोर निर्माण गर्दा जग्गाको व्यवस्था भए सभागृह, विद्युतिय सवगृह बनाउन सकिने उल्लेख गर्दै नेता बस्नेतले उक्त संरचना निर्माणको लागि बजेटको व्यवस्थापन हुने जसको लागि भारतीय राजदुतावासले बजेको प्रतिवद्धता जनाएको जानकारी गराउनुभयो । नगरपालिका क्षेत्रभित्र भौतिक पूर्वाधार, विद्यालय, स्थास्थ्यलगायतका क्षेत्रहरुमा धेरै सुधार भएता पनि गर्नुपर्ने धेरै कामहरु बाँकी रहेकाले त्यसको लागि नगरपालिका लाग्नुपर्ने आवश्यकता रहेको औंल्याउँदै नेता बस्नेतले एक वर्षको बजेट ढिला हुँदा त्यसले दुई वर्षलाई असर गर्ने भन्दै आयोजनालाई लक्षीत विन्दुमा पुर्याउन सवैले एक ढिक्का भई अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।

विकासका आयोजनमा ठेगदारले धोका दिएमा काम गर्न ढिलाई गर्ने ठेकदारलाई सार्वजनिक अपराधको कारवाही गर्नुपर्नेमा जोड दिँदै नेता बस्नेतले भन्नुभयो, ‘विकासमा अवरोध गर्ने तत्वहरुलाई तह लगाउनुपर्छ । सामुहिक रुपमा तह लगाृनुपर्छ । हाम्रा सार्वजनिक जमिनहरु विगतमा हडपिएका छन् । तिनिहरुलाई फिर्ता ल्याउनै पर्छ । यो देशमा सार्वजनिक उपयोगका चिजहरु निर्माण गर्नैपर्छ ।’

स्थानीय तहको समय सम्पन्न हुनै लागेको उल्लेख गर्दै नेता बस्नेतले अबको छोटो समयमा जनप्रतिनिधिले विगतको भन्दा बढी जनमूखी र प्रभावकारी कामहरु गरी अगाडी बढ्नुपर्ने आवश्यकता रहेको औल्याउँदै आफ्नो नेतृत्वमा शुरु भएका आयोजनाहरुलाई पूर्णता दिनुपर्नेमा जोड दिनुभयो । देशभरका नगरपालिका मध्ये सूर्यविनायक नगरपालिकामा उत्कृष्ट कामहरु भएता पनि परस्कृत हुने समयमा भने अन्य नगरपालिका छनौट हुने गरेकोमा नगरपालिकाले आवश्यक सुधान गर्नुपर्ने कुराहरुलाई ध्यान दिन आग्रह समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘स्थानीय तहले हालसम्म उत्कृष्ट कार्य गरेका छौं । अब सर्वोत्कृष्ट काम गरि कार्यकाल अन्त्य गर्नेछौं भन्ने हुनुपर्छ । विगतमा भएका कामलाई पूर्णता दिनुपर्छ । भक्तपुर जिल्लाको लागि मात्र नभई देशभरकै काममा सूर्यविनायक नगरपालिका उत्कृष्ट रहेको जनमानसको बुझाई रहेता पनि किन पुरस्कृत हुन किन छुटेको छ ? यो विषयमा समेत नेतृत्वले ध्यान दिनुपर्छ । नगरपालिकाले डकुमेन्ट्रेशनमा समस्या हो कि, नोमिनेशनमा नपरेर हो ? यसमा पनि कर्मचारीले अलिकति ध्यान दिनुपर्ने देखिन्छ ।’

कार्यक्रममा प्रदेश सदस्य रजनी जोन्छे, नगरप्रमुख बाशुदेव थापा, उपप्रमुख जुना बस्नेत, वडा नं. ८ का वडाध्यक्ष किराण थापा, वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटालगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com