वडाध्यक्ष थापाद्वारा ३७ लाखको ‘अक्षय कोष’ स्थापना

भक्तपुर, २० माघ । सूर्यविनायक नगरपालिका वडा नं. ८ वडाध्यक्ष किरण थापाको पहलमा ३७ लाखको अक्षयकोष स्थापना गरिएको छ ।

विहीबार एसियाली विकास बैंकको आर्थिक सहयोगमा केन्द्रीय आयोजना कार्यान्वयन इकाई CLPIU(Education) मार्फत रु ६ करोड २५ लाखको लागतमा निर्माण हुने सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलको नयाँ आधुनिक विधालय भवन शिलान्यास कार्यक्रममा सूर्यविनायक–८ ननाबुँ सिपाडोलमा रहेको गणेश माध्यमिक विद्यालयलाई जगत भैरव प्रतिष्ठानले ३७ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । उक्त कोषमा वडाध्यक्ष थापाले आफुले जनप्रतिनिधि भएको पाँच वर्षे कार्यकाल भरिको पारिश्रमिक, सेवा सुविधासहितको १५ लाख कोषमा जम्मा गर्नुभएको छ ।

त्यस्तै निक भुजिकिक हाउजिङ प्रालिबाट १० लाख रुपैयाँ सहयोग र झ्यामो घ्याङ हाउजिङ प्रालिबाट १० लाख, नेकपा एमालेको पोलिटव्यूरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले १ लाख र प्रतिष्ठानका अध्यक्ष द्वारिका छत्यालबाट १ लाख रुपैयाँ गरी जम्मा ३७ लाख रुपैंया सहयोग प्राप्त भएको छ । वडाध्यक्ष थापाकै अग्रसरतामा प्रतिष्ठान स्थापना भएको हो ।

प्रतिष्ठानबाट प्राप्त सहयोगलाई विद्यालयले आवश्यकता अनुसार विद्यार्थीको सेवा, सुविधा तथा शैक्षिक उन्नयनका क्षेत्रमा खर्च गर्ने वडाध्यक्ष थापाले जानकारी दिनुभयो । आर्थिक फाइदालाई पछाडि राखी सामाजिक सेवाको भावले निरन्तर वडाको विकास र समृद्धिको यात्रालाई तिव्र गतिमा लैजान सफल हुनुभएका एमालेका जिल्ला कमिटी सदस्य समेत रहनुभएका वडाध्यक्ष थापाले भौतिक विकास मात्र भएर आफ्नो ठाउँका जनताको सोचमा परिवर्तन हुने भएकाले वौद्धिक विकासको लागि अक्षयकोष स्थापना गरी गरिव जनताको शिक्षाको क्षेत्रमा उक्त रकम प्रयोग गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मैले वडा अध्यक्ष भएपछि प्राप्त गरेको सेवा, सुविधा तथा तलबलाई सामाजिक क्षेत्रमा खर्च गर्ने लक्ष्यसहित प्रतिष्ठानलाई सहयोग गरेको छु । प्रतिष्ठानलाई सहयोग गर्दै पुनः प्रतिष्ठान मार्फत स्कुललाई सहयोग गर्न पाउँदा खुसी लागेको छ । भौतिक विकासले मात्र समाज रुपान्तरण हुन सक्दैन । मानिसको सोच तथा व्यवहारलाई समेत रुपान्तरण गर्नुपर्ने अहिलेको अनिवार्य आवश्यकता बनेको छ । त्यसैले मानिसको वौद्धिक विकासको लागि र नविनतम सोचलाई अगाडी बढाउन शिक्षा अपरिहार्य भएकाले अक्षय कोषको माध्यमबाट गुणस्तरिय शिक्षा दिनको लागि विशेष भूमिका निर्वाह गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com