माओवादी घटकलाई एकतावद्ध हुन अध्यक्ष प्रचण्डको आह्वान
काठमाडौँ, १ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छरिएर रहेका माओवादीलाई एकताबद्ध हुन आह्वान गर्नुभएको छ ।
देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरु जनताको बलिदानबाट प्राप्त परिवर्तनलाई उल्ट्याउन तथा परिवर्तनको नेतृत्व नेता र पार्टीलाई बदनाम गर्न अहिले पनि लागिरहेको भन्दै प्रचण्डले देशको अगाडि आइपरेको समस्यालाई आत्मसात गर्दै माओवादी घटकलाई एकतावद्ध हुन आग्रह गर्नुभएको हो ।
२७ औं शसस्त्र युद्व सुरू भएको दिनको सम्झनामा आइतबार शुभकामना वक्तव्य जारी गर्दै प्रचण्डले भन्नुभएको छ, ‘छरिएर रहेका माओवादी घटकहरुलाई देशको अगाडि आइपरेको समस्यालाई आत्मसात गर्दै एकतावद्ध हुन आग्रह गर्दछु। परिवर्तनका लागि लडेका शक्तिहरु एक भए वर्तमान परिवर्तनलाई अझै सुदृढ र समृद्ध गर्न सकिने विश्वास व्यक्त गर्दछु ।’
