एमसीसी टेवुल गर्ने गठबन्धनको निर्णयप्रति नेता खनालको आपत्ति
काठमाडौँ, ८ फागुन । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले सत्तारुढ गठबन्धनले एमसीसी संसदमा टेवुल गर्ने निर्णयप्रति आपत्ति जनाएका छन् ।
नेता खनालले संविधान विपरित गठबन्धनले एमसीसी टेवुल गर्ने निर्णय गरेको समेत आरोप लगाएका छन् । उनले भने, ‘एमसीसी अनुमोदन गर्नको लागि ऐन पनि छैन । संघीय ऐन नबनाई संसदमा टेवुल गर्न सकिदैन । यो संविधान विपरित पनि छ ।’
शनिबार मात्र आफ्नो पार्टीले एमसीसी सम्झौता परिमार्जन नगरी अगाडी नबढाउने निर्णय गरेको उनले बताए । ‘हिजो मात्र पार्टीले निर्णय गर्ने अनि आज टेवुल गर्ने भन्ने कसरी मिल्छ । यो सब गलत कुराहरु भए । विदेशीहरुको दबाबमा पार्टीहरु झुक्दै गएको कुरा यसले देखाउँछ,’ खनालले भने ।