सरकारले लोकतन्त्रकै उपहास गर्यो, अब सरकारमा बस्दैनौंः नेता श्रेष्ठ

काठमाडौँ, ९ फागुन । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले सरकारले एमसीसी जबजस्त रुपमा संसदमा पेश गरी लोकतन्त्रकै उपहास गरेकाले आफ्नो पार्टी सरकारमा बसिरहनुको कुनै अर्थ नभएको बताउनुभएको छ ।

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहनुभएका नेता श्रेष्ठले एमसिसी बलजफ्ती संसदमा टेवल गरिए सरकार छोडने पार्टी संसदीय दल र सचिवालयको बैठकको निर्णय परिवर्तन नहुने अडान राख्नुभयो । एमसिसी संसदमा टेवल भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले पार्टीको निर्णय अनुसार अब आफूहरू सरकारमा बस्न नसक्ने स्पष्ट पार्नुभयो । नेता श्रेष्ठले एमसिसीजस्तो नेपाललाई दूरगामी असर पुर्याउने र राष्ट्रियतासँग सम्बन्धित तथा सिंगो नेपाली समाज विभाजित भएको संवेदनशील सम्झौंतालाई प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँ नेतृत्वको नेपाली कांग्रेसले प्रमुख प्रतिपक्ष दल एमालेले संसद अवरुद्ध पारिरहेको बेला संसदमा टेवल गरेको भन्दै आपत्ति जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी एमसिसी सम्झौताको विरूद्धमा छौं । यसलाई कुनै पनि हालतमा स्वीकार गर्न सकिदैन । संसदबाट अनुमोदन गर्न सकिदैन भन्ने हाम्रो विचारमा हामी दृढ छौं । किनभने यो राष्ट्रियताको पक्षमा उभिने वा राष्ट्रघात र राष्ट्रिय आत्म समर्पणको पक्षमा जाने भन्ने विषय हो। यो संवेदनशील विषय हो । दोस्रो कुरा आज यो सरकारले र मुख्यतयाः प्रधानमन्त्री, नेपाली कांग्रेसले साह्रै जोडबल गरेर एक ढंगले बलजफ्ती गरेर संसदमा टेवल गर्यो ।’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com