मिर्गौला पीडित पण्डितलाई सहयोग

तनहुँ, १५ फागुन । मिर्गौला पीडित रामचन्द्र पण्डितलाई कास्कीका कर्मचारीका तर्फबाट करिब दुई लाख सहयोग गरिएको छ । नेपाल निजामति कर्मचारी सङ्गठनका केन्द्रीय सदस्य समेत रहनुभएका उहाँलाई सो सङ्गठन कास्कीले रु एक लाख ९५ हजार सहयोग गरेको हो । सङ्गठनको ११ औं जिल्ला अधिवेशनका अवसरमा उक्त रकम उनलाई हस्तान्तरण गरिएको छ ।

कास्कीका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीबाट सङ्कलन गरिएको रकम पण्डितका उपचारमा सहयोग पु¥याउन हस्तान्तरण गरिएको निजामति कर्मचारी सङ्गठन तनहुँका अध्यक्ष रुद्र ठकुरीले जानकारी दिए ।

बिरामी पण्डितलाई शुक्रबार मात्रै निजामति कर्मचारी सङ्गठन तनहुँले पनि रु ५० हजार आठ सय ४५ सहयोग गरेको थियो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका अधिकृत पण्डितको केही समय अगाडी स्वास्थ्यमा समस्या आएपछि परीक्षण गर्दा दुवै मिर्गौला फेल भएको पत्ता लागेको थियो । निजामती कर्मचारी सङ्गठनले पण्डितको उपचारमा सहयोग गर्न सबैसँग अपिल गरेको छ ।

कलकत्तास्थित अस्पतालमा पण्डितको मिर्गौला प्रत्यारोपणको तयारी गरिएको र आर्थिक स्रोत अभाव भएपछि सबैसँग सहयोगको अपिल गरिएको अध्यक्ष ठकुरीले जानकारी दिए । सहयोगका लागि निजामती कर्मचारी सङ्गठन तनहुँको नाममा राष्ट्रिय वाणिज्य बैङ्कमा रहेको खाता नम्बर ३५२०१०००००४६३००१ वा माछापुच्छ्रे बैङ्कमा रामचन्द्र पण्डितको नाममा रहेको खाता नम्बर १२३६५२४१११३३९०११ मा रकम जम्मा गर्न सकिनेछ । रासस

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com