अल्पसङ्ख्यक र सिमान्तकृतका अधिकारलाई सुनिश्चित गर्न क्रियाशील छौँ : प्रधानमन्त्री देउवा
काठमाडौँ, १९ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले हरेक जातजातिका आआफ्ना विशिष्ट रीतिरिवाज, चाडपर्व र संस्कृति भए पनि सबै जाति र धर्म मान्ने सम्प्रदायले यो विविधतालाई सम्मान गर्नु नेपालीको मौलिक एवं विशिष्ट पहिचान भएको बताउनुभएको छ ।
उहाँले आज ग्याल्बो ल्होसार अर्थात् नयाँ वर्ष २१४९ क्षु–फो–ताक्लोका उपलक्ष्यमा सम्पूर्ण शेर्पा दिदीबहिनी दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले शुभकामना सन्देशमार्फत नेपाल जातीय, भाषिक, धार्मिक एवं सांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सरकारले सन् २००७ सेप्टेम्बर १३ मा आदिवासीको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठनको प्रावधानलाई अनुमोदन गरिसकेको र सोअनुसार महासन्धि कार्यान्वयनमा प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ ।
उहाँले सरकार अल्पसङ्ख्यक र सिमान्तकृत समूहको अधिकारलाई सुनिश्चित गर्न तथा नेपाली धार्मिक एवं सांस्कृतिक पर्व र परम्परालाई संरक्षण एवं सम्वद्र्धनका लागि सदैव क्रियाशील रहेको बताउनुभएको छ ।