लुटपाटमा संलग्न आठजना पक्राउ

काठमाडौँ, २० फागुन । काठमाडौँ नयाँबजारस्थित समृद्ध फार्मेसीका सञ्चालक राजेन्द्र साँकीलाई ‘प्रहरी हौँ’ भन्दै लुटपाट गर्ने आठजनाको लुटेरा समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले यही फागनु १२ गते फार्मेसीका सञ्चालक राजेन्द्रलाई ‘हामी प्रहरी हौँ, तपाईँको पसलमा अवैध औषधि बिक्री–वितरण हुनेरहेछ’ भन्दै नियन्त्रणमा लिएर लुटपाट गरेका उनीहरूलाई पक्राउ गरेको हो ।

पसल सञ्चालकलाई नियन्त्रणमा लिएर उनीहरूले काउन्टरमा भएको नगद, साथमा रहेको मोबाइल, लगाएको घडीलगायत ६५ हजार रुपैयाँ लुटपाट गरेर लगेको महाशाखाले जनाएको छ । पक्राउ पर्नेहरूमा जुम्लाका देवीप्रसाद धिताल, धादिङका शंकर रेग्मी, डडेलधुराका हिक्मत महता, कञ्चनपुरका सुवास रतोकी, कञ्चनपुरकै मिलन बोहरा, पाँचथरका भविन्द्र बेगा, दैलेखका योगेन्द्रबहादुर चन्द र प्युठानका कमल सुनार छन् ।

उनीहरूका साथबाट ११ थान मोबाइललगायत सामग्री बरामद गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com