राष्ट्रियसभामा निर्वाचित भएर आएका १९ सांसदको शपथ ग्रहण हुँदै

काठमाडौँ, २१ फागुन । नवनिर्वाचित राष्ट्रियसभा सदस्यको शपथ आज ११ बजे हुने भएको छ ।

संघीय संसद‍् सचिवालयका अनुसार राष्ट्रियसभाका १९ सदस्यको सपथ शनिबार बिहान ११ बजे कानुन, न्याय तथा मानवअधिकार समितिको कार्यकक्षमा राखिएको छ । चार वर्षे कार्यकाल पूरा गरेर राष्ट्रिय सभाका २० सांसद शुक्रबार बिदा हुनुभएको छ । उहाहरुलाई शुक्रबार साँझ एक कार्यक्रम गरी बिदाई गरिएको छ ।

पदावधि सकिन लागेका १९ राष्ट्रियसभा सदस्यका लागि माघ १२ गते भएको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले गठबन्धन गरेर साझा उम्मेदवारी दिएका थिए भने एमाले र राप्रपाले छुट्टै उम्मेदवार दिएका थिए । सातै प्रदेशमा भएको मतदानबाट १९ जना राष्ट्रिय सभा सदस्य थपिएका हुन् । महिलाबाट ७, दलितबाट ३, अपांगता भएका व्यक्ति वा अल्पसंख्यकबाट २ र अन्य समूहबाट ७ जना सदस्य निर्वाचित भएका हुन् । निर्वाचित नयाँ सदस्यहरूको कार्यकाल ६ वर्षको हुनेछ ।

राष्ट्रिय सभामा २४ सिट मध्ये ७ सिट गुमाएको एमालेको अब १७ सिट भएको छ। राष्ट्रिय सभामा दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्र हो। आजको जितसँगै उसको १५ सिट पुगेको छ । तेस्रो ठूलो दल रहेको कांग्रेसको १० सिट पुगेको छ । त्यस्तै, एकीकृत समाजवादीको ८, जसपाको ३ सिट र राजमोको १ सिट हुनेछ । एमालेका ८, एकीकृत समाजवादी र माओवादी केन्द्रका ४-४ र कांग्रेसका ३ सदस्यको पदावदी आगामी फागुन २० गते सकिँदैछ ।

सोनाम ग्याल्जेन शेर्पा (नेकपा एमाले) अपांगता वा अल्पसंख्यक, गोपाल बस्नेत, नेपाली कांग्रेस  (अन्य), जयन्ती राई,  एकीकृत समाजवादी (महिला), उर्मिला अर्याल, नेकपा माओवादी केन्द्र (महिला), महम्मद खालिद सिद्धिकी, जनता समाजवादी पार्टी (अन्य), गोमादेवी तिमल्सिना, एकीकृत समाजवादी (महिला), कृष्णप्रसाद पौडेल, नेपाली कांग्रेस (अन्य), कमला पन्त, नेपाली कांग्रेस (महिला) , सुरेश आलेमगर, माओवादी केन्द्र (अन्य), भुवनबहादुर सुनार, माओवादी केन्द्र (दलित), युवराज शर्मा, नेपाली कांग्रेस (अन्य), राजेन्द्रलक्ष्मी गैरे, नेकपा एकीकृत समाजवादी (महिला), तुलप्रसाद विश्वकर्मा, जनमोर्चा (दलित), उदय बोहोरा, एकीकृत समाजवादी (अन्य), नरबहादुर विष्ट, माओवादी केन्द्र (अपांग/आदिवासी), दुर्गाकुमारी गुरूङ, कांग्रेस (महिला), नारायणदत्त मिश्र, नेपाली कांग्रेस (अन्य), मदन कुमारी शाह (गरिमा), नेकपा एकीकृत समाजवादी (महिला), जगत पार्की, नेकपा माओवादी केन्द्र (दलित) रहनुभएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com